News

Aug 16, 2012

जिन्स लगाउने महिला तथा तिनका परिवारलाई कारबाही

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतको झारखण्ड राज्यमा एक संगठनले जिन्स लगाउने महिला तथा तिनका परिवारमाथि भौतिक आक्रमण गर्ने चेतावनी दिएपछि तनाव उन्पन्न भएको छ । झारखण्ड मुक्ति संघको नामबाट राँचीको प्रमुख क्याम्पस तथा सहरका विभिन्न स्थानमा बिहीबार धम्कीपूर्ण पोस्टर देखापरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । पोस्टरमा महिलालाई जिन्स लगाउन प्रतिबन्ध लगाउनुका साथै ओढ्नी ओढेर हिँड्न निर्देशन दिइएको छ । झारखण्ड मुक्ति संघको नामक संगठनको नाम यसअघि राँचीमा कहिल्यै पनि सुनिएको थिएन । टाँसिएका केही पोस्टर प्रहरीले जफतसमेत गरेको छ । पोस्टरको माथिल्लो भागमा झारखण्डको जमिन, रोजगारी, संस्कृति तथा अस्मिता रक्षाका लागि झारखण्ड मुक्ति संघ खोलिएको बताइएको छ । त्यस्तै, महिलालाई जिन्स लगाउन प्रतिबन्ध लगाउनुका अलावा झारखण्डमा जमिन खरिदबिक्री गर्नेमाथि कडा कारबाही गरिने, सरकारी जागिरमा अन्य प्रान्तका मानिसलाई प्रतिबन्ध लगाइनेलगायत धम्की ती पोस्टरमा समावेश गरिएका छन् । यसैगरी सरकारी जागिरमा झारखण्डबाहेक अन्य स्थानका मानिस भर्ती भएमा उनीहरूमाथि भौतिक आक्रमण गरिने, झारखण्डको जमिनबाट मानिस विस्थापित गराउने कम्पनीमाथि कडा कारबाही गरिने जनाइएको छ ।
पोस्टरका कारण राँची प्रहरी तथा जिल्ला प्रशासन कार्यालय अचम्ममा परेका छन् । अन्य धम्कीलाई बेवास्ता गरे पनि महिलामाथि जिन्स लगाउन नपाउने धम्कीलाई प्रहरीले गम्भीरतापूर्वक लिएको बताइएको छ । पोस्टर सार्वजनिक भएलगत्तै महिला तथा उनका परिवारमाथि हुन सक्ने सांघातिक हमला रोक्न प्रहरीले सहरका प्रमुख इलाकामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारेको छ । हालैका दिनमा भारतका विभिन्न राज्यमा महिलाले लगाउने पोसाकविरुद्ध धेरै धम्की आउन थालेपछि महिलाको सुरक्षालाई लिएर धेरै चासो र चिन्ता हुन थालेको बताइएको छ । शुक्रवार, १० अगष्ट २०१२ ११:१५ मा अन्तिम पटक अद्यावधिक गरिएको हो

No comments: