News

Aug 22, 2012

नेपालगन्जमा चुल्ठे-मुन्द्रे नियन्त्रण अभियान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भाद्र ६ - सार्वजनिक अपराधका घटनामा चुल्ठे, मुन्द्रेको संलग्नता व्यापक हुन थालेपछि बाँके जिल्ला प्रहरी कार्यालयले ‘चुल्ठे–मुन्द्रे नियन्त्रण अभियान’ सुरु गरेको छ । अभियानको पहिलो चरणअन्तर्गत प्रहरीले अहिलेसम्म १३० भन्दा बढी चुल्ठे–मुन्द्रे र लामो कपाल पाल्ने ठिटालाई पक्राउ गरी परामर्शसहित अभिभावकको जिम्मा लगाएको छ । लागुऔषध सेवन, ओसारपोसार, चोरी, लुटपाट तथा केटी जिस्काउने कार्यमा चुल्ठे–मुन्द्रेको संलग्नता पाइएपछि त्यस्तो अभियान सञ्चालन गर्नुपरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक विक्रमसिंह थापाको भनाइ छ । मानवअधिकारकर्मीले भने प्रहरीको यस्तो कार्य मानवअधिकारको एकदम बर्खिलाफ भएको टिप्पणी गरेका छन् । “अपराधी पत्ता लगाउने नाममा कपाल पाल्ने र मुन्द्रा लगाउने सबैलाई अपराधीको दृष्टिकोणले हेरिनु र पक्राउ गर्नु सरासर मानवअधिकार विपरीत हो”— राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलको प्रतिक्रिया छ । अस्वाभाविक पहिरन, कपाल रङ्गाउने, कान–चिउँडो छेड्ने, आँखीभौँ तथा कानमा मन्द्रा लगाउनेहरु कुलतमा फसेका र फस्ने सम्भावनामा रहने हुँदा र त्यस्ताबाट धेरै अपराधका घटना भइरहेकाले अभियान सञ्चालन गर्नुलाई अन्यथा सम्झन नहुने प्रहरीको तर्क छ । अभियानअन्तर्गत पक्राउ गरिएकामध्ये अपराधमा संलग्नता रहेकामाथि प्रहरीले थप अनुसन्धान पनि सुरु गरेको छ ।

No comments: