News

Jan 15, 2008

साहित्यकार देश सुब्बाद्वारा लेखिएको आदिवासी माथि अन्तरक्रिया सम्पन्न

लिम्वूवान व्लगस्पोट डटकम काठमाण्डौं सम्वाददाता
काठमाडौं, २९ पुस । हङकङ प्रवासी साहित्यकार देश सुब्बाद्वारा भयवादीय अवधारणालाई आधार मानेर लेखिएको नवीनतम् उपन्यासकृति ‘आदिवासी’माथि
आइतबार राजधानीमा एक अन्तर्क्रियात्मक कार्यक्रमको आयोजना गरियो । शब्द शताब्दी, नेपाल एवं सृजनशील साहित्य समाज, हङकङको संयुक्त आयोजनामा सम्पन्न अन्तर्क्रिया कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि वरिष्ठ आयामेली कवि बैरागी काइँलाले भन्नुभयो- ‘भयवादमा आधारित देश सुब्बाको ‘आदिवासी’ नामक यो उपन्यास ‘उपन्यास’ कम र ‘दर्शन’ बढी भएको हो कि जस्तो अनुभूति हुन्छ’ उहाँले अगाडि थप्नुभयो- ‘कुनै निश्चित वाद, विचार वा आग्रहमा बाँधिएर सिर्जना गर्दा यस्तो हुन्छ ।’
त्यसैगरी अर्का लोकप्रिय साहित्यकार खगेन्द्र संग्रौलाले ‘लेखकले आफ्नो भयवादीय अवधारणालाई प्रष्ट्याउने प्रयत्न गर्दा उपन्यास जुन रुपमा पूर्ण हुनुपथ्र्यो त्यो रुपमा पूर्ण हुन नसके तापनि उपन्यास रोचक शैलीमा बुनिएको’ उल्लेख गर्नुभयो । प्रगतिवादी कवि गोविन्द वर्तमानले भन्नुभयो- ‘काव्यात्मक भाषाशैलीमा लेखिएको हुनाले उपन्यास पठनीय छ तर व्याकरणगत त्रुटी भने प्रशस्तै छन् ।’ उहाँले उपन्यासको नाम ‘आदिवासी’ भन्दा पनि ‘तरुल-उत्सव’ राखिएको भए बढी सुन्दर हुने’ बताउनुभयो । उहाँको मतमा बैरागी काइँलाले पनि सही थप्नुभयो ।
देश सुब्बाको उपन्यासकृति ‘आदिवासी’माथि चर्चित कवि श्रवण मुकारुङ, लीलावादी साहित्यकार कृष्ण धरावासी, चलचित्र निर्देशक नवीन सुब्बा, शब्द शताब्दी, नेपालका अध्यक्ष तथा चर्चित कवि शशी लुमुम्बू, सृजनशील अराजक कवि राजन मुकारुङ, रङगवादी कवि चन्द्रवीर तुम्बापो, लेखक अमर नेम्बाङ लिम्बू, मुक्त अभियानका तर्फबाट कवि प्रकाश आङदेम्बेले आआफ्नो विचार अभिव्यक्त गर्नुभएका थियो ।

No comments: