News

Jan 17, 2008

बाउन्न जनजातिको चाडमा सार्वजनिक विदा दिन माग

लिम्वूवान डट व्लगस्पोट डटकम,धरान
हालै मन्त्रिपरिषद्ले सूचीकृत ५९ जनजातिमध्ये ७ वटा जनजातिको चाडमा मात्र १ दिन सार्वजनिक विदा दिएको प्रति विमति जनाउँदै जनजाति नेताहरुले बाँकी ५२ जनजातिको चार्डपर्वमा पनि विदा नदिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । जनजातिहरुको सबै माग संविधानसभाअघि नै सुनिश्चित नगरिए चुनावमै भाग नलिने सम्मको निर्णय गर्न समेत पछि नहट्ने उनीहरुले चेतावनी दिएका छन् । मंगलबार नेपाल मगर संघ धरानको आयोजनामा सम्पन्न एक कार्यक्रममा उनीहरुले यस्तो चेतावनी दिएका हुन् । तमु छोंज धी सुनसरी अध्यक्ष खम्बसिंह तमुले सूचीकृत ५९ जनजातिमध्ये ७ लाईमात्र पर्व विदा दिएर सरकारले जनजातिको मर्म र भावनामाथि कुठाराघात गरेको भन्दै बाँकी ५२ जनजातिको चाडमा विदा नदिए कडा आन्दोलनमा उत्रने बताउनुभयो ।
आदिवासी जनजाति महासंघ सुनसरी अध्यक्ष ङावालप्टु शेर्पाले सरकारले आदिवासी जनजातिसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै आपत्ति प्रकट गर्नुभयो । उहाँले सदियौंदेखि राज्यले जनजातिको भाषा, संस्कृति जगेर्ना गर्नुको सट्टा थिचोमिचो गर्दै आएकाले आउँदो संविधानसभापछि हकअधिकार सुनिश्चित गर्न एकजुट भएर दबाव दिन आदिवासी जनजातिहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा किरात याक्थुङ चुम्लुङ सुनसरी अध्यक्ष चन्द्रबहादुर लिम्बू र नगर अध्यक्ष सानु सुब्बा, नेपाल मगर महिला संघकी मीना पुलामीलगायतले बोलेका थिए ।
सो अवसरमा मगर जातिको हुर्रा नाच प्रदर्शन गरिएको थियो । कार्यक्रममा गेसो सुनसरी अध्यक्ष गजेन्द्र इश्वो, भूतपूव गोर्खा सैनिक महिला संघकी सुनसरी अध्यक्ष शशी थापा सुब्बालगायत विभिन्न जातिजाति/संघसंस्थाको प्रतिनिधिहरुको सहभागिता रहेको थियो । यसैबीच किरात राई सांस्कृतिक कलाकार संघ सुनसरीले पनि येले सम्वत् ५०६८ का साथै संक्रान्तिको अवसर पारेर मंगलबार कन्दमूल ग्रहण तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
किरात राई यायोक्खा केन्द्रीय संगठन विभाग प्रमुख तिलक राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा किरायाका सुनसरी अध्यक्ष मुगाधन राईले आफ्नो जातिको हकअधिकार सुनिश्चित गराउन आगामी संविधानसभाको चुनावमा चुक्नुहुँदैन भन्नुभयो । कार्यक्रममा किरावि संघ सुनसरी उपाध्यक्ष हिमकला
राईलगायतले येले सम्वतका अवसरमा शुभकामना मन्तव्य दिनुभएको थियो भने कलाकारहरुले विभिन्न नेताको क्यारिकेचर, गीत लगायतका प्रतिभा प्रस्तुत गरेका थिए ।

No comments: