News

Jan 16, 2008

निर्वाचनमा लिम्बुवानको सहभागिता नरहने

लिम्वूवान डट व्लगस्पोट डटकम बिर्तामोड
संघीय लिम्बुवान राज्य परिषद्ले सरकारद्वारा चैत्र २८ गते गर्ने भनिएको संविधानसभाको निर्वाचनलाई निर्रथक एवं नाटकीयको संज्ञा दिँदै लिम्बुवान क्षेत्रमा निर्वाचन विफल पार्ने चेतावनी दिएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध परिषद्ले सोमबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा परिषद्का महासचिव मिसेकहाङ थाम्सुहाङले जातिको ऐतिहासिक पृष्ठभूमिको आधारमा जातीय स्वायत्तता र जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको निश्चितता अन्तरिम संविधानमा उल्लेख गर्न माग गर्दै सो कुरा उल्लेख नगरी गर्न लागिएको निर्वाचनमा लिम्बुवानको सहभागिता नरहने बताउनुभयो । पत्रकार सम्मेलनपछि वितरित प्रेस विज्ञप्तिमा शहीद राजकुमार आङदेम्बेलाई राष्ट्रिय शहीद घोषणा गर्नुपर्ने,लिम्बूहरुको मातृभाषालाई लिम्बुवानका सरकारी कार्यालयमा प्रयोगमा ल्याइनुपर्नेलगायतका मागहरु राखिएका छन् ।
विज्ञप्तिमा जल, जङ्गल र जमिनमाथिको आदिवासीय अधिकार भन्दै सबै किसिमको वन पैदावर तथा खनिज पदार्थ काट्न, संकलन गर्न र ओसारपसार गर्न प्रतिबन्ध लगाइने पनि उल्लेख छ । धनकुटाको भेडेटारस्थित सिमखुवा ढाट तथा इलामको किटेनी ढाटमा भएको प्रहरी हस्तक्षेपको विरोध गर्दै यस्तै हस्तक्षेप कायम रहे भयानक परिणाम आउने चेतावनी विज्ञप्तिमा दिइएको छ । यसैगरी नेपालको सुस्ता लगायतका क्षेत्रमा भारतद्वारा नेपाली भूमि अतिक्रमण भइरहेको तथा नेपाल सरकार हालसम्म मूकदर्शक भएको भन्दै लिम्बुवान राज्य परिषद्ले घोर भत्र्सना गरेको छ । परिषद्ले विरोधस्वरूप माघ २० गते लिम्बुवान बन्द गर्ने घोषणासमेत गरेको छ ।

No comments: