News

Jan 7, 2008

अन्तरिम संविधानको तेश्रो संशोधित विधेयक दहन

लिम्वूवान व्लगस्पोट काठमाडौं
विभिन्न आदिवासी जनजाती, मधेसी, दलित र बहिस्कृत समुदायको साझा राजनीतिक संगठन संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाको आव्हानमा यहि पुस २३ गते काठमाडौंको माइतिघर मण्डला लगायत देशका विभिन्न जिल्ला सदरमुकाम तथा प्रमुख सहरहरूमा अन्तरिम संविधानको तेस्रो संशोधित विधेयकको दहन गरिएको छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग सम्बद्ध स्वायत्त संगठनहरू संघीय लिम्बुवान राज्य परिषद, तामाङसालिङ स्वायत्त राज्य परिषद तथा अन्य मोर्चामा आवद्ध संगठनहरू मधेसी जन अधिकार फोरम, नेपाल; संयुक्त थारू राष्ट्रिय मोर्चा, नेपाल; जनजाति दलित पार्टी, मधेसी लोकतान्त्रिक मोर्चा र लोकतान्त्रिक मधेसी मोर्चाको अगुवाइमा उक्त संविधानको विधेयक जलाउने कार्य सम्पन्न भएको हो ।
संविधानसभाको निर्वाचन अगावै सफल र सार्थक संविधानसभाको निर्वाचन गर्न गराउनका लागि राजतन्त्र र एकात्मक शासन सत्ताको समूल अन्त्य गरी संघीय गणतन्त्रको घोषणा गर्नुपर्ने, संविधानसभाको चुनाव जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गरी गर्नुपर्ने तथा जाति, भाषा र क्षेत्रको ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहित स्वायत्त गणराज्यहरूको स्थापना हुनुपर्ने लगायतका मागहरू राखी मोर्चामा आवद्ध भएर उक्त विभिन्न राजनीतिक संगठनहरूले आन्दोलन जारी राखेका छन् ।
हाल आएर अन्तरिम संविधानको तेस्रो संशोधित विधेयकमार्फत पनि मोर्चामा आवद्ध संगठनहरूले राखेका मागहरू सम्बोधन नगरी पुन: असफल संविधानसभाको नाटक मञ्चन गर्न थालिएकोले यसको सांकेतिक विरोधस्वरूप उक्त संशोधित विधेयकको दहन गरिएको कुरा नेताहरूले बताएका छन् । विधेयक दहन गर्ने कार्य लिम्बुवानको ताप्लिङजोङ, पान्थर, इलाम, विर्तामोड, दमक, केर्खा झापा, विराटनगर मोरङ, र तेह्रथुममा प्रहरी दमनको बावजुद पनि सफलतापूर्वक दहन गर्ने कार्य सम्पन्न भएको छ । त्यसैगरी मधेस र थारूहटका विभिन्न स्थानमा पनि व्यापक जन सहभागिताका साथ सो कार्य सम्पन्न भएको समाचार छ । काठमाडौंको मुटु, माइतिघर मण्डलाको विधेयक दहन कार्यमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष: कमल छाराहाङ, मधेसी जन अधिकार फोरमका उपध्यक्ष: किशोरकुमार विस्वास, संयुक्त थारू राष्ट्रिय मोर्चाका उपाध्यक्ष; यगेन्द्र थारू, जनजाति दलित पार्टीका अध्यक्ष: विसेन्द्र पासवान, मधेसी लोकतान्त्रिक मोर्चाका अध्यक्ष: कदमनरायण चौधरी, र तामाङसालिङ स्वायत्त राज्य परिषदका अध्यक्ष: डी. के. बुद्धिष्ट तामाङ लगायतका नेताहरूको उपस्थिति रहेको थियो । संघीय गणतान्त्रिक मोर्चाले सोहि दिन एक प्रेस विज्ञप्ति जाहेर गरी विधेयक दहन कार्य पूर्णरूपमा सफल भएको दावी गर्दै उक्त कार्यमा भएको प्रहरी दमनको घोर भर्त्सना गरेको छ ।

No comments: