News

May 14, 2010

एमआरपी पासपोर्टको नयाँ टेन्डर आह्वान गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
३० वैशाख,परराष्ट्र मन्त्रालयले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) आगामी तीन महिनाभित्र जारी गर्ने लक्ष्यका साथ केही दिनभित्रै नयाँ टेन्डर आह्वान गर्ने भएको छ । प्रारम्भिक छनोट (पिक्यू) को प्रक्रिया नअपनाई सीधै बहुराष्ट्रिय कम्पनी छनोट गर्न लागिएको हो ।
'एमआरपी तीन महिनाभित्रै जारी गर्नका लागि एक-दुई दिनमै टेन्डर आह्वान गर्नेछौँ,' मन्त्रालयका शिष्टाचार महापाल एवं सहसचिव मोहनकृष्ण श्रेष्ठले भने, 'त्यसका लागि तयारी भइरहेको छ ।' समय कम रहेकाले पिक्यू नगरी सीधै एमआरपीको टेन्डर आह्वान गर्न लागिएको उनले जानकारी दिए ।
सार्वजनिक खरिद ऐनअनुसार सरकारले आवश्यकताअनुसार पिक्यू नगरी पनि टेन्डर आह्वान गर्न सक्छ । गत ३० चैतमा भारतसँगको एमआरपी सम्झौता सरकारले रद्द गरेपछि मन्त्रालयले दोस्रोपटक एमआरपीको टेन्डर आह्वान गर्न लागेको हो ।
अन्तर्राष्ट्रिय कम्पनीहरूले टेन्डर-प्रक्रियामा सहभागी हुनका लागि पालना गर्नुपर्ने सर्तहरू (टेक्निकल स्पेसिफिकेसन) यसअघि नै तयार पारिसकेको छ । 'हामीले तय गरेका सर्तहरू पालना गर्ने कम्पनीहरू टेन्डर-प्रक्रियामा सहभागी हुन सक्नेछन्,' सहसचिव श्रेष्ठले भने । मन्त्रालयले शुक्रबार एमआरपी टेन्डर आह्वानबारेको सूचना प्रकाशित गर्ने पनि उनले जानकारी दिए ।
हाल मन्त्रालयले 'यो मेसिन रिडेबल पासपोर्ट होइन' भन्ने अंग्रेजी बेहोरा समेटिएको हातले नै लेखिएको पासपोर्ट वितरण गरिरहेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन
-आइकाओ) को निर्देशनअनुसार गत १९ चैतमा एमआरपी जारी गर्न नसकेपछि सरकारले आइकाओसँग चार महिना थप समय मागेको थियो । आइकाओले उपलब्ध गराएको सोही अवधिभित्र एमआरपी जारी गर्ने गरी काम अघि बढाइएको श्रेष्ठले बताए । उनका अनुसार विगतको टेन्डर-प्रक्रियामा कडा सर्त राखिएकाले थोरै मात्रै कम्पनी आएको हुँदा यसपटक केही खुकुलो बनाइनेछ ।
उता, मन्त्रालयमा विभिन्न जिल्लाबाट पासपोर्ट लिन आउने मानिसको भीड बढेको छ । मन्त्रालयका कन्सुलर शाखाका उपसचिव डोरनाथ अर्यालले अबदेखि पासपोर्ट लिनका लागि सभासद्को सिफारिस लिनुनपर्ने जानकारी दिए ।

No comments: