News

May 10, 2010

फिडेल क्यास्ट्रो वातावरणीय विनाशप्रति आक्रोशित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हवाना/ क्युबाका पूर्वनेता फिडेल क्यास्ट्रोले सरकारको साटो दुनियाँमा पुँजीले शासन गर्ने गरेको बताएका छन् । मेक्सिको खाडीमा तेल पोखिएपछिको भयानक वातावरणीय विनाशप्रति लक्षित गर्दै उनले लेखेको लेखमा पुँजीलाई नियन्त्रणमा राख्नेविरुद्ध सरकारले कमै कारबाही गर्न सकेको विचार व्यक्त गरेका हुन् ।
'मेक्सिको खाडीमा तेल पोखिएपछि विश्वमाथि पर्यावरणीय प्रकोपमा घृणित आतंक थोपरिएको छ्,' उनले भनेका छन् । यस विस्फोटले ११ को मृत्यु हुनाका साथै पर्यावरण विशेषज्ञका अनुसार अमेरिकी तेल उद्योगको इतिहासमै सबैभन्दा खराब पर्यावरणीय प्रकोप उत्पन्न भएको छ ।
साता दिनअघि मेक्सिको खाडीमा बि्रटिस पेट्रोलियमको तेल विस्फोट भएको थियो । क्यास्ट्रोका अनुसार अमेरिका र युरोपका कम्पनीहरूले भाग्य निर्धारण गर्ने गरेका छन् । विश्वको अर्थतन्त्र तिनकै नियन्त्रणमा छ । गत २२ अपि्रलमा पोखिएको आठ लाख लिटर तेलले खाडीमा भयावह जल प्रदूषण उत्पन्न भएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले यस घटनालाई राष्ट्रिय प्रकोपको संज्ञा दिएका छन् ।
'साम्राज्यवादले मानव जीवनमाथि आइलागेको चुनौतीका लागि बाराक ओबामा भने जिम्मेवार नभएको क्यास्ट्रोको धारणा छ । 'ओबामाले यथार्थप्रति अनभिज्ञ रहनुका साथै यस समस्यालाई न त उनी पार लगाउन चाहन्छन् न त सक्छन् नै । स्वप्नशील विश्वमा उनी अयथार्थवादी सपना देख्छन्,' क्यास्ट्रोले लेखमा भनेका छन् ।
८३ वर्षे समाजवादी क्रान्तिकारी नेता क्यास्ट्रोको स्वास्थ्य बिग्रँदै गएपछि चार वर्षदेखि पदमुक्त भएर बसेका छन् । उनी स्थानीय पत्रपत्रिकामा लेख लेख्छन् । क्युबाली कम्युनिस्ट पार्टीको प्रथम सचिवको पदीय दायित्व भने उनले निर्वाह गर्दै आएका छन् ।

No comments: