News

Sep 19, 2012

१० दलले पूर्वराजा ज्ञानेन्द्रको भ्रमण अवरोध गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
३ असोज,पर्वतका मुख्य राजनीतिक दलहरुले पूर्वराजा ज्ञानेन्द्र शाहको भ्रमण बहिस्कार गर्ने र त्यसबिरुद्ध प्रदर्शन गर्ने भएका छन् । नेकपा एमाले पर्वतको कार्यालयमा बुधबार बसेको १० दलको बैठकले धार्मिक भ्रमणका नाममा पूर्वराजा ज्ञानेन्द्रले संक्रमणकालको फाइदा उठाएर गणतन्त्रमाथि धावा बोल्न खोजेको निष्कर्ष निकाल्दै भ्रमणबिरुद्ध आन्दोलन गर्ने निर्णय गरेका हुन् । बैठकमा एकीकृत नेकपा माओवादी, कांग्रेस, एमाले, नेकपा-माओवादी, राप्रपा, माले लगायतका १० दल सहभागी थिए । पूर्व राजा ज्ञानेन्द्रले बिहीबारदेखि पश्चिमका विभिन्न धार्मिक र पर्यटकीय क्षेत्रको भ्रमण गर्दै हुनुहुन्छ । उहाँ शनिबार पर्वत आउने कार्यक्रम तय भएको छ । बैठकले भ्रमण कार्यक्रमा सहभागी नहुन र सक्रियता पूर्वक वहिस्कार गर्न कार्यकर्तालाई आह्वान गरेका छन् । ज्ञानेन्द्रको भ्रमणविरुद्ध बिहीबार कोणसभा गर्ने निर्णय भएको नेकपा एमाले पर्वतका अध्यक्ष बिकास लम्सालले जानकारी दिनुभयो । बैठकले पूर्वराजा ज्ञानेन्द्रको भ्रमणमा सरकारी सम्पत्तिको दुरुपयोग हुन नदिन प्रमुख जिल्ला अधिकारी र सरकारी कार्यालयलाई ध्यानाकर्षण गराएको छ । जिल्लाका क्रियाशिल सामाजिक संघसंस्था र धार्मिक संस्थालाई समेत भ्रमणको बिरोध गर्न बैठकले अपिल गरेको छ । पूर्वराजा ज्ञानेन्द्रले पर्वतको सदरमुकाम कुस्माबजारमा रहेको गुप्तेश्वर गुफा, गायत्री मन्दिर र निर्माणाधिन यान्त्रिक पुल अवलोकन र दर्शन गर्ने कार्यक्रम तय भएको छ ।

No comments: