News

Sep 17, 2012

कांग्रेस नेतृत्वमा सरकार बन्ने माओवादी नेताको भनाइ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असोज १- एकीकृत नेकपा (माओवादी)का वरिष्ठ नेता अमिक शेरचनले दसैँ अगाडि नै नेपाली काँगेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने जानकारी दिएका छन्। 'कसरी र कुन प्रक्रियाद्वारा नेकाको नेतृत्वमा सरकार गठन गर्ने र यस्तो सरकार कति समयका लागि भन्ने विषयमा दलहरुबीच छलफल भइराखेको छ'- उनले भने। रिपोर्टस क्लब नेपालद्वारा आयोजित साक्षात्कार वरिष्ठ नेता शेरचनले विगतको नजिरलाई पछ्याउँदै संविधानसभा निश्चितसम्मका लागि पुनःस्थापना गर्न सकिने र पुनःस्थापित संविधानसभाबाट सहमति भएका विषयलाई समावेश गर्दै नयाँ संविधान जारी गर्न सकिने धारणा राखे। "नयाँ संविधानमा समावेश हुने शासकीयस्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली, सङ्घीयताजस्ता विषय दलबीच विमति रहेका छन्, यसलाई समाधान गर्न निर्वाचनमा जान सकिन्छ", उनले भने। नेता शेरचनले दलबीच नयाँ संविधान बनाउन सहमतिभन्दा अर्को विकल्प नरहेकामा जोड दिँदै यसका लागि निरन्तर वार्ता र संवाद आवश्यक हुने धारणा राखे। एनेकपा (माओवादी) पार्टीभित्रको आन्तरिक सम्पत्ति छानबिन गर्न गठित छानबिन समितिका संयोजक रहनुभएका नेता शेरचनले समितिसमक्ष ६५ वटा उजुरी परेको र असोज १० गतेभित्र आफ्नो समितिले अध्यक्षसमक्ष प्रतिवेदन प्रस्तुत गर्ने जानकारी दिए। उनले सम्पत्ति छानबिन गर्न उच्च तहका नेतादेखि कार्यकर्तासम्मको उजुरी परेको बताए।

No comments: