News

Sep 19, 2012

बाबुराम भट्टराईकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असोज ३ - प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले चैत मसान्तभित्र संविधानसभाको निर्वाचन गर्ने गरी प्रधानमन्त्री बाबुराम भट्टराईकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने बताएका छन्। रिपोर्टर्स क्लब नेपालद्वारा आज आयोजित साक्षात्कार कार्यक्रममा उनले चैतमा निर्वाचन गर्ने हो भने प्रधानमन्त्री भट्टराईकै नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतिमा परिवर्तन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै सरकार परिवर्तनतिर लागेर निर्वाचन हुन नसक्ने बताए। उनले संविधानका विवादित विषयमा सहमति जुट्ने सम्भावना न्यून रहेकोले अब निर्वाचन नै एकमात्र विकल्प भएको स्पष्ट पारे। नेपाली कङग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले काँग्रेसमा नेतृत्वका लागि कुनै विकल्प नभएको भन्दै अवसर आए आधा घण्टामै उम्मेदवार सहमतिमै प्रस्तुत गर्ने बताए। एमाओवादीमा इमान्दारिताको अभावका कारण मुलुकमा सङ्कट उत्पन्न भएको दाबी गर्दै उनले अब निकासका लागि ताजा जनादेशको लागि निर्वाचनमा जानुपर्ने र त्यसका लागि गत जेठ २ गतेको सहमतिलाई आधार मानेर विवादित विषयमा सहमति खोज्नुपर्नेमा जोड दिए। ''राजनीतिक दलहरूबीच सहमति कायम भएमा केही समयका लागि संविधानसभा पुनःस्थापना गर्न सकिन्छ,'' प्रवक्ता बडूले भने, ''काँग्रेस सङ्कटको निकास संविधान निर्माण भएकोमा स्पष्ट छ र त्यसका लागि ताजा जनादेशमात्रै उपयुक्त विकल्प हो।'' नेकपा (एमाले)की उपाध्यक्ष विद्यादेवी भण्डारीले एक वर्षसम्म संविधान निर्माणको काम गर्ने र बाँकी चार वर्ष संसदको काम गर्ने गरी संविधानसभा संसदको निर्वाचनमा जानु नै उपयुक्त निकास भएकाले त्यसका लागि प्रधानमन्त्रीको बहिर्गमन पहिलो सर्त हुने बताइन्। संविधानका विवादित विषयमा सहमति बन्छ भन्नु नेपाली जनतालाई धोका दिनुबाहेक केही नभएको भन्दै उनले मुलुकलाई सङ्कटबाट मुक्त गर्न संविधानबाहेकका विवादित विषयमा सहमति गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

No comments: