News

Sep 13, 2012

आइफोन फाइभ नेपालमा चल्दैन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भदौ २८, एप्पलले आफ्नो बहुप्रतीक्षित स्मार्टफोनको नयाँ संस्करण आइफोन फाइभ गएराति अमेरिकाको सन फ्रान्सिस्कोमा आयोजित कार्यक्रममा सार्वजनिक गरेको छ। कम्पनीले अमेरिका, बेलायत, क्यानाडा, जर्मनी, जापान, हङकङ, सिंगापुरमा असोज ५ गतेदेखि उपलब्ध हुने र बाँकी १०० देशमा यो वर्षको अन्त्यसम्म उपलब्ध हुने बताएको छ। तपाईँ पनि यो फोन किनौँला वा विदेशबाट कसैलाई मगाउँला भन्ने सोचिरहनुभएको छ ? त्यसो हो भने ध्यान दिनुस्, अहिलेको अवस्थामा आइफोन फाइभ नेपालमा चल्दै चल्दैन। आइफोनका कुनै पनि मोडल नेपालमा आधिकारिक रुपमा बिक्री सुरु भएको छैन। आइफोनले विश्वभरका टेलिकम अपरेटरहरुसँग मिली कन्ट्र्याक्टमा यो फोन बेच्ने गर्छ। तर 'सिम अनलक' गरी त्यसलाई नेपालमा पनि चलाउन सकिने बनाइएको छ। आइफोनका पुराना संस्करणहरुमा यो सुविधा उपलब्ध भए पनि आइफोन फाइभ भने सिम कै कारण नेपालमा चल्न सक्दैन। किनभने आइफोन फाइभमा प्रयोग हुने सिम 'नानो सिम' हो। नेपाल टेलिकम, एनसेल, युटिएललगायत नेपालका कुनै पनि टेलिकम अपरेटरले 'नानो सिम' वितरण गर्दैनन्। आइफोनको यसअघिका मोडलमा प्रयोग हुने माइक्रो सिम पनि नेपाली टेलिकम अपरेटरहरुले उत्पादन गरेका छैनन्। नेपाली अपरेटरहरुले रेगुलर सिम मात्रै उत्पादन गर्छन्। तर सिम कटरले काटेर यहाँका प्रयोगकर्ताहरुले रेगुरल सिमलाई नै माइक्रो सिम बनाई त्यसको प्रयोग गरिरहेका छन्। नानो सिम पनि त्यसैगरी बनाउन संभव छ त ? छैन । नानो सिम आकारमा मात्र सानो हैन, पातलो पनि हुन्छ। सिम काटेर सानो बनाए पनि पातलो बनाउन सकिँदैन। माइक्रो सिमभन्दा नानो सिम १५ प्रतिशतले पातलो हुन्छ। त्यसैगरी यो माइक्रो सिमभन्दा ४० प्रतिशत सानो हुन्छ। रेगुलर सिमलाई नानो सिम बनाउन नसकिए पनि नानो सिमलाई भने रेगुलर सिम वा माइक्रो सिम बनाउन सकिन्छ। त्यसका लागि एडेप्टर किन्नुपर्ने हुन्छ। त्यसो भए के गर्ने त ? नेपाली टेलिकम अपरेटरहरुले नानो सिम उत्पादन नगरेसम्म पर्खने। अथवा नेपालमा पनि रोमिङ सेवा भएको विदेशी टेलिकम अपरेटरको सिम लिएर यहाँ पनि चलाउने। तर ध्यान राख्नुस्, रोमिङ सेवा निकै महँगो हुन्छ। 
 के छ आइफोन फाइभमा ? 
नयाँ आई फोन यसअघिको मोडलभन्दा अझ पातलो र अझ हलुका र अझ छिटो हुनेछ। यो ७.६ मिमि पातलो हुनेछ। फोरएस मोडलभन्दा यो १८ प्रतिशत कम हो। त्यसैगरी यसको वजन ११२ ग्राम छ, जुन पुरानो मोडलभन्दा २० प्रतिशत हलुका हो। आइ फोन फाइभ शिशा र आल्मुनियमको प्रयोग गरी बनाइएको छ। एप्पलको ए६ चिप्स प्रयोग गरिएकोले यसको सीपीयु दुई गुणा छिटो हुने कम्पनीको दावी छ। वाइफाइ चलाउँदा यसको ब्याट्रीले १० घण्टासम्म धान्ने एप्पलले बताएको छ। यसबाट खिचिने प्यानोरेमिक फोटो २८ मेगापिक्सेलको हुनेछ। अगाडि, पछाडि र मुनि गरी यसमा तीन वटा बिल्ट इन माइक हुनेछ। यसको प्रि अर्डर शुक्रबारबाटै सुरु हुने र एक सातापछि सेप्टेम्बर २१ देखि किन्नेलाई पठाउन थालिने एप्पलले बताएको छ। आई फोन फोर एसकै मूल्यमा फाइभ पनि बेचिनेछ। एप्पलले आई फोन फोरलाई भने कन्ट्रयाक्ट फ्रिमा बेच्ने घोषणा गरेको छ।

No comments: