News

Sep 14, 2012

लिम्बुवान मोरङको तेस्रो जिल्ला सम्मेलन हुँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मोरङ, लिम्बुवान, २८ भाद्र २०६९ । ‘‘भदौ २९ र ३० गते पथरी जाऔं, मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद ऐतिहासिक तेस्रो मोरङ जिल्ला सम्मेलन भव्यताका साथ सफल पारौं’’ भन्ने नाराका साथ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान– मोरङको तेस्रो जिल्ला सम्मेलन भदौ २९ र ३० गते पथरी, मोरङमा सम्पन्न हुने भएको छ । लिम्बुवानका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इञ्चार्ज अशोक चेम्जोङद्वारा आज भाद्र २८ गते प्रेसित एक विज्ञप्ति अनुसार सो कार्यक्रमको उद्घाटन समारोह भाद्र २९ गते साकेलाथान पथरीमा हुने भएको छ । यस कार्यक्रमको समुद्घाटन संघीय मञ्च तथा परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’बाट हुने जनाइएको छ । उक्त विज्ञप्तिमा जनाइए अनुसार सोही दिन साँझबाट सम्मेलनको बन्दसत्र सरस्वती गेष्ट हाउस, पथरीमा सुरुभई त्यस सत्रले लोकतान्त्रिक विधि र विधानअनुसार नयाँ जिल्ला कार्य समितिको चयनसमेत गर्नेछ । यस लिम्बुवान सम्मेलनमा मोरङ जिल्लाको रमिते, मधुमल्ला, उर्लाबारी, राजघाट, इटहरा, सिजुवा, हसनदह, अमरदह, शनिश्चरे, पथरी, बयरबन, बाहुनी, डाँगीहाट, बेलबारी, इन्द्रपुर, केराबारी, गोगटेनी, सिंहदेवी, पाटीगाउँ, वाराङ्गी, लेटाङ, जाँते, टाँडी गाविस र विराटनगर उप–महानगरपालकिा लगायत करिब ४० भन्दा बढी गाविसहरुबाट ५०० भन्दा प्रतिनिधि तथा पर्यवेक्षकको उपस्थिति रहने छ । उक्त सम्मेलनको उद्घाटन समारोहमा सम्पूर्ण लिम्बुवानवासी, लिम्बुवानप्रेमी, संघीय गणतन्त्रवादी जनसमुदायहरुलाई सहभागी भइदिन हुन हार्दिक आह्वान गरिएको छ । यस सम्मेलनका लागि ‘‘लिम्बुवान स्वायत्त राज्यको संवैधानिक सुनिश्चित गर; आई. एल. ओ. महासन्धि १६९ कार्यान्वयन गर; एकात्मक केन्द्रीकृत राज्यसत्ता मुर्दावाद, एकात्मक षडयन्त्रकारीहरु मुर्दावाद र सम्पूर्ण संघीयवादीहरु एक हौं’’ लगायतका नाराहरुसमेत तय गरिएका छन् । उक्त सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्न संघीय धिमाल स्वायत्त परिषद, माझी समन्वय परिषद र मोरङ जिल्ला समितिले काँधमा काँध मिलाएर लागेको जानकारी समेत गराइएको छ । मोरङ जिल्लामा घर हुने देश–विदेशमा रहेका सम्पूर्ण लिम्बुवानवासी लिम्बुवानप्रेमी मित्रहरुलाई सम्मेलनको खुल्ला उद्घाटन समारोहलाई बृहत रुपमा सफल बनाउन आ–आफ्नो घर–गाउँमा सबैलाई सूचना गरी साथ सहयोग गर्नसमेत हार्दिक अपील गरिएको छ । – डीबी आङ्बुङ, लिम्बुवान

No comments: