News

Sep 23, 2012

एमालेका असन्तुष्ट जनजाति र मधेसी नेताहरुले १८ गते त्यागको घोषणा गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
७ असोज,नेकपा एमालेका उपाध्यक्ष अशोक राईसहितका असन्तुष्ट जनजाति र मधेसी नेताहरुले १८ गते एमाले त्यागको घोषणा गर्ने भएका छन् । नयाँ पार्टी गठनको अन्तिम तयारीमा जुटेका असन्तुष्ट नेताहरुले एमाले परित्यागको घोषणाका लागि अग्रगामी विचार समूहको राष्ट्रिय भेला बोलाएका छन् । ‘एमालेसँगको सम्वन्ध विच्छेदका लागि असोज १८ गते अग्रगामी विचार समूहको राष्ट्रिय भेला बोलाएका छौं’ एक नेताले अनलाइनखबरसँग भने-’हामी एमाले परित्यागको प्रस्ताव गर्दै छौं । भेलाबाटै एमाले परित्यागको घोषणा गछौं ।’ श्रोतका अनुसार केन्द्रीय स्तरका नेताहरुमा उपाध्यक्ष राईसहित रामचन्द्र झा, विजय सुब्बा, रकम चेम्जोङ, राजेन्द्र श्रेष्ठ, अजम्बर काङबाङ राई, वीरबहादुर लामा लगायतले एमाले परित्याग गर्ने तयारीमा गरेका छन् । केन्द्रीयसँगै जिल्ला स्तरसम्मकै नेता कार्यकर्ताको ठूलो पङ्ती एमालेबाट अलग हुने तयारीमा रहेको एक नेताले बताए । भेलामा अग्रगामी विचार समूहलाई समर्थन गर्ने हरेक अञ्चल र जिल्ला कमिटीमा ४ देखि ५ जना नेताहरुलाई बोलाइएको छ । पुथ्वीसुब्बा, किरण र दलबहादुर नजाने ? नयाँ पार्टी गठन अभियानमा राईभन्दा निकै अगाडी देखिएका पोलिटव्युरो सदस्य पुथ्वीसुब्बा गुरुङ भने एमालेमै बस्ने निश्चित भएको छ । १८ गते एमाले परित्याग गर्नेहरुको सूचीमा उनी नरहेको एक नेताले बताए । उनी पार्टीमै रहेर अन्तरसंघर्ष गर्ने पक्षमा छन् । यस्तै किरण गुरुङ र दलबहादुर राना पनि केही समय तटस्थ बस्ने योजनामा छन् । ‘एमालेमा पनि नबस्ने र नयाँ पार्टीमा पनि नआउने उहाँहरुको तयारी छ’ एक नेताले अनलाइनखबरसँग भने ।

No comments: