News

Sep 3, 2012

बाबुराम सरकारलाई वैद्य समूहले ७० बुँदे माग राख्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भाद्र १८ - एमाओवादीबाट फुटेर बनेको नेकपा-माओवादी ले बाबुराम भट्टराई सरकारसँग ७० बुँदे माग राख्ने भएको छ । माग पूरा नभए आन्दोलन गर्ने उसको चेतावनी छ । माओवादी उपाध्यक्ष सीपी गजुरेलले सोमबार राजधानीमा आयोजित साक्षात्कारमा तत्कालिन माओवादीले राखेका ४० बुँदे मागमा ३० थप गरी ७० बुँदे माग राख्ने जानकारी दिए । माओवादी नेता बाबुराम भट्टराई -हाल प्रधानमन्त्री)ले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारसँग ४० बुँदे माग राखेका थिए । माग पूरा नभएको भन्दै माओवादी सशस्त्र युद्धमा गएको थियो । गजुरेलले आन्दोलन शान्तिपूर्ण हुने उल्लेख गरे । 'आन्दोलन शान्तिपूर्ण हुन्छ,' उनले भने, 'तत्कालिन विद्रोही माओवादीलेजस्तो जनसरकार ब्युँताउने सम्भावना छैन ।' गजुरेलले बाबुराम भट्टराई प्रधानमन्त्री पदमा कायम रहेसम्म दलहरुबीच सहमति बन्न नसक्ने ठोकुवा गरे । 'बाबुराम भट्टराई प्रधानमन्त्री रहुन्जेल सहमति बन्नै सक्दैन,' प्रधानमन्त्रीको राजीनामा पहिलो सर्त रहेको बताउँदै उनले भने, 'उहाँ अब पदमा रहनु हुन्न ।' दलहरुबीच सहमति पनि नहुने, बाबुराम भट्टराईले राजीनामा पनि नदिने हो भने अर्को जनआन्दोलनको विकल्प नभएको स्पष्ट पारे । राष्ट्रपतिले गतिरोध अन्त्यको लागि ठोस पहलकदमी लिनु पर्ने भन्दै गजुरेलले पछिल्ला गतिविधिले राष्ट्रपति निरीह देखिएकोप्रति चिन्ता प्रकट गरे । उनले भने-'राष्ट्रपति निरीह रहने, प्रधानमन्त्री गैरजिम्मेवार भइरहने यस्तो अवस्थामा अब जनताले सडक कब्जा गर्नुको विकल्प छैन ।'

No comments: