News

Feb 14, 2008

शान्तिसुरक्षाको स्थितिमा पूर्ण सुधार हुन नसकेको आम जनताको गुनासो

लिम्वूवान डट व्लगस्पोट डटकम , काठमाडौँ प्रतिनिधि
सशस्त्र द्वन्द्वको अन्त्य भई मुलुक संविधानसभाको निर्वाचनमा होमिसके पनि शान्तिसुरक्षाको स्थितिमा पूर्ण सुधार हुन नसकेको गुनासो आम जनताले गरेका छन्। सेल्फर वर्ल्डले सार्वजनिक गरेको “नेपालमा सार्वजनिक सुरक्षा र प्रहरी सेवाः सामुदायिक सुरक्षा र प्रहरी सेवाप्रति सार्वजनिक अवधारण विश्लेषण” विषयक प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ।
नेपाली जनताको सुरक्षा तथा प्रहरी सेवाप्रतिको दृष्टिकोण, अपेक्षा र सरोकार विषयमा मुलुकका पाँच विकास क्षेत्रमा गत वैशाख १३ देखि १८ गतेसम्म गरिएको छलफल तथा वैशाख २५ देखि जेठ १९ गतेसम्म गरिएको अन्तरवार्ताका आधारमा सो प्रतिवेदन तयार पारिएको हो। नेकपा (माओवादी) र सरकारबीच भएको शान्तिसम्झौतापछि लामो सशस्त्र द्वन्द्वले निकास पाउने अपेक्षा बढेको र भविष्यमा सो स्थितिको पुनरागमन नहुने आशा पलाएको धारणा छलफलका सहभागीहरूले व्यक्त गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
प्रतिवेदनमा ५७ प्रतिशत सहभागीले मुलुकको गतिविधि सकारात्मक दिशातर्फ अघि बढेको विश्लेषण गरे भने १३ प्रतिशतले अवस्था बिग्रँदो रहेको धारणा राखेको उल्लेख छ। प्रतिवेदनले करिब ७० प्रतिशत सहभागीले एक वर्ष पहिलेको अवस्था हेर्दा वर्तमानको स्थितिमा उनीहरूका क्षेत्र निकै सुरक्षित रहेको जनाएको भएपनि मुलुकका विभिन्न भागको यात्रामा हाल पनि सामान्य कठिनाइ कायमै रहेको जनाएको औंल्याएको छ।
प्रतिवेदनका अनुसार शान्तिसम्झौतापछि मुलुकको शान्तिसुरक्षामा सुधार आएको भएपनि २८ प्रतिशत सहभागीले सरकारले विधिको शासन कायम गर्न नसकेको धारणा राखेका थिए भने ४२ प्रतिशतले भने अपराधबाट पीडित भएको बताएका थिए।
प्रतिवेदनमा तर्राईमा असुरक्षाको ठूलो समस्या रहेको उल्लेख छ। र्सवेक्षणमा सहभागीमध्ये मध्यमाञ्चल विकास क्षेत्रका ३८ प्रतिशत र पूर्वी क्षेत्रका ३२ प्रतिशत सहभागी आपराधिक गतिविधिको सिकार हुने डरले अति चिन्तित रहेको बताएको जनाइएको छ। छलफलमा सहभागी तीन हजार १० जना तथा अन्तरवार्तामा सहभागी १५० जनाको धारणाका आधारमा सो प्रतिवेदन तयार पारिएको बताइएको छ।

No comments: