News

Feb 26, 2008

पूर्वको झडपमा ५० भन्दा बढी घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,इनरुवा
सुनसरीको सदरमुकाम इनरुवामा सोमबार प्रदर्शनकारी तर्फबाट चलाइएको गोली लाग्दा सशस्त्र प्रहरीका एक वरिष्ठ हवलदारको मृत्यु भएको छ। इनरुवामा सोमबार भएको झडपमा प्रदर्शनकारी र प्रहरीतर्फ गरी कम्तीमा पनि ५० जना घाइते भएका छन्। उता, दुहबीमा स्थानीय पहाडे र मधेशी समुदायबीच भएको झडप नियन्त्रणको क्रममा प्रहरीले गोली चलाउदा तीन जना सर्वसाधारण घाइते भएका छन्। सशस्त्र प्रहरीको पुर्वाञ्चल मुख्यालय पकलीका वरिष्ठ प्रहरी उपरीक्षक कमल वस्नेतका अनुसार झडपको क्रममा प्रदर्शनकारी तर्फबाट चलेको गोली लागेर सिभिल पोशाकमा रहेका सशस्त्रका वरिष्ठ हवलदार शुक्रलाल माझीको आँखा र कञ्चटमा दुईवटा गोली प्रहार भएको पोष्टमार्टमको क्रममा देखिएको छ। इनरुवाको शिव मन्दिर अगाडिको नालामा माझीको शव साँझ ५:१५ वजे फेला परेको थियो। यसैबीच,तराई जनतान्त्रिक मुक्ति मोर्चा ज्वाला समूहका सुनसरी-मोरंग इञ्चाज कृषले टेलिफोनमार्फत मोरगंको कटारी स्थायी घर भएका चौधरीलाई आफ्नो कार्याकर्ताले कञ्चटमा गोली प्रहार गरी हत्या गरेको दाबी गरेका छन्। यसैगरी, सोमबार इनरुवामा पटक-पटक भएको झडपमा प्रदर्शनकारी र प्रहरीतर्फ गरी ५० भन्दा बढी घाइते भएका छन्। प्रत्यक्ष निर्वाचन प्रणालीको उम्मेदवारी दर्ता कार्यक्रममा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले अवरोध सिर्जना गर्न खोजेपछि इनरुवामा दिनभरि नै झडप भयो। सो क्रममा प्रदर्शनकारी र प्रहरीतर्फ ५० भन्दा बढी घाइते भएका छन्। प्रदर्शनकारीतर्फ ४५ र प्रहरीतर्फ ५ जना घाइते भएका छन्। प्रदर्शनकारीमध्ये गम्भीर अवस्थाका ९ जनाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। अन्य सबै घाइतेहरुको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ। झडपको क्रममा प्रदर्शनकारीको ढुंगा र लाठी लागेर प्रहरी तर्फ डिल्ली लुईटेल, सोमबहादुर आलेमगर लगायत ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घाइते सबै प्रहरीको अवस्था सामन्य रहेको छ। स्थानीय प्रशासनले उम्मेदवारी मनोनयन दर्ताको क्रम शुरु गरेपछि इनरुवास्थित नगरपालिका र महिला विकास कार्यालय रहेको क्षेत्रमा निषेधित क्षेत्रतिर बढन खोज्ने मोर्चाका कार्याकर्ता र प्रहरीबीच पटक-पटक झडप भएको थियो। झडपको क्रममा प्रहरीले स्थानीयको घरभित्र समेत प्रवेश गरी आतंक मच्चाएको थियो। पछिल्लो पटक साँझ ५ बजेतिर भएको झडपको क्रममा प्रहरीको लाठी प्रहारबाट आन्दोलनमा सहभागी नभएका दुई वृद्धा गम्भीर घाइते भएका छन्। उनीहरुमध्ये घरमै वसिरहेका ६५ वर्षीय राजकुमार मण्डललाई प्रहरीले बन्दुकको कन्दा, लाठी र वुटले प्रहार गरेको थियो। उनको अवस्था चिन्ताजनक रहेको र धरानमा उपचार भइरहेको आफन्तले जानकारी दिएका छन्। प्रहरीले पनि घरभित्र प्रवेश गरी कुटपिट गरेको स्वीकार गर्दै घरभित्रवाट ढुंगा हानिएकाले बाध्य भएर त्यसो गर्नुपरेको दाबी गरेको छ। सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारको गोली प्रहारबाट हत्या गरिएपछि र झडपका कारण वजार क्षेत्र तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले सुनसरी सदरमुकाम इनरुवामा साँझ ६ बजेबाट कर्फ्यु आदेश जारी गरेको छ। यो आदेश इनरुवा नगरपालिकाको पूर्वमा २ नम्बर र ९ नम्बरको सीमामा रहेको नहर पश्चिममा सुनसरी खोला, उत्तरमा राजमार्ग क्षेत्र र दक्षिणमा बबियाको सीमानासम्म मंगलवार विहान ६ बजे सम्म लागु हुने सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमनारायण शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार यसअघि इटहरीको बुढीखोलाबाट कोशी व्यारेजसम्म प्रत्येक रात ९ बजेदेखि विहान ७ बजेसम्म र सोनापुरको फुटानी चौकबाट दुहबीको बूढाखोलासम्म ८ बजेदेखि विहान ५ बजेसम्म लाग्दै आएको कर्फ्यु आदेश यथावत रहने छ। यसैबीच प्रहरीको गोली लागेर सोमबार साँझ सुनसरीको दुहवीमा तीन जना स्थानीयवासी घाइते भएका छन्। दुई समुदायबीचको झडपका कारण दिनभर तनावग्रस्त बनेको दुहबीमा स्थानीय प्रशासनले साँझ ६ बजेवाट कर्फ्यु लगाएको थियो। कर्फ्युको समयमा घर बाहिर निस्केको भन्दै प्रहरी तर्फबाट गोली प्रहार हुँदा तीन स्थानीय घाइते भएका छन्। घाइतेहुनेहरुमा दुहवीका अमर अग्रहरी, राजन विश्‍वास र गोपाल साह रहेका छन्। विश्‍वासको खुट्टा, अग्रहरी र साहुको पाखुरामा गोली लागेको छ। तीनैजनाको स्थानीय सामुदायिक उपचार केन्द्रमा उपाचार भइरहेको छ। दिउसो ३ बजेतिर थारु कल्याणकारिणी सभाले निकालेको जुलुस कोणसभामा परिणत हुने क्रममा स्थानीय पहाडे मूलका बासिन्दासँग मधेशी मूलका बासिन्दाको विवाद भएको थियो। सामान्य विवाद झडपमा परिणत भएपछि त्याँहाको अवस्था ५ बजेसम्म तनावपूर्ण बनेको इलाका प्रहरि कार्यालय दुहवीका प्रहरी निरिक्षक नारायण चिमरियाले जानकारी दिनुभयो। प्रहरीले दुई पक्षबीचको झडप र तनावलाई नियनत्रणमा लिन दर्जनौ राउण्ड गोली र अश्रग्याँस प्रहार गरेको थियो। सो क्रममा दुवै समुदायका करिव ८ जना सामान्य घाइते भएका छन्। पटक-पटकको प्रयासपछि पनि दुवै समुदायले संयम नअपनाएपछि साँझ ६ बजेवाट मंगलबार विहान ५ बजेसम्मका लागि दुहवी क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ। यसैबीच, मधेसी जनाधिकार फोरमका कार्यकर्ताले सोमबार दिउँसो इटहरीबाट विराटनगरतर्फ हिडेको एक मोटरसाइकल तोडफोड गरेका छन्। बन्द उल्लङघन गरेको भन्दै विराटनगर-२२ का जयप्रकाश साहको को १ प ३४०२ नम्वरको मोटरसाइकल फोरम कार्यकर्ताले तोडफोड गरेको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ।

No comments: