News

Feb 23, 2008

'भीसी फोर्स' को ज्यादतीले युवाहरू विस्थापित

लिम्वूवान डट व्लगस्पोट डटकम,विप्लव भट्टराई
इलाम, फागुन १० पश्चिमी बाझोस्थित माङसेवुङमा रहेको किरात धर्मस्थलमा 'भीसी फोर्स' को ज्यादतीले युवाहरू विस्थापित हुन थालेका छन् । मानव अधिकार मञ्च इलामले शुक्रबार प्रतिवेदन सार्वजनिक गर्दै एक सयको हाराहारीमा युवाहरू विस्थापित भएको बताएको छ । धर्मगुरु आत्मानन्द लिङदेनको आश्रम सुरक्षार्थ भन्दै गत कात्तिकमा गठित भीसी -भिलेज सेन्ट्री) दस्ताको ज्यादतीले उनीहरूले गाउ छोडेको मानव अधिकारकर्मीहरूले जनाएका छन् । प्रतिवेदन सार्वजनिक गर्दै मञ्चका अध्यक्ष डीएन पराजुलीले विस्थापितलाई तत्काल स्थापित गराउनुपर्ने बताए । 'विस्थापितहरूको अवस्था दयनीय छ,' अध्यक्ष पराजुलीले भने- 'समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्छ ।' त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी रामप्रसाद घिमिरेले त्यहाको समस्या समाधानका लागि पहल भइरहेको बताए । 'त्यहाका समस्याबारेमा प्रशासनलाई जानकारी आएको छ,' प्रजिअ घिमिरेले भने- 'समाधानका लागि चाडै कदम चाल्नेछौं ।'
कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले समस्याप्रति राज्य उदासीन भएको भन्दै समयमै समस्या निदान नगरिए गम्भीर अवस्था आउन सक्ने चेतावनी दिए । 'राज्यले नै पृष्ठपोषण गरेकाले माङसेवुङमा अराजक गतिविधि बढेको हो,' माओवादीका जिल्ला इन्चार्ज रमणले भने । राजनीतिक स्वार्थका कारण पनि राज्यले त्यहाको समस्या समाधान गर्न नसकेको कांग्रेसका होम दुलालले बताए ।
विकृति र विसंगति हटाउने नाममा शारीरिक र मानसिक यातना दिएर युवाहरूलाई विस्थापित गराइएको प्रतिवेदनमा उल्लेख छ । भीसी फोर्सले आगन्तुकलाई चेक जाच गर्ने, रातको समयमा कफर्यु लगाउनेलगायतका क्रियाकलाप गर्ने गरेको छ । फोर्समा तीन सयको हाराहारीमा सदस्य छन् । १०-१२ वर्षा देखि ४५ वर्षउमेर समूहकाहरू फोर्समा आवद्ध रहेको स्थानीयवासीहरू बताउछन् । माओवादी द्वन्द्वकालमा काम्राङ नामको फोर्सले यस्तै गतिविधि गर्ने गरेको थियो । जनदबाबपछि त्यो समूह निस्क्रिय भएको थियो । गत कात्तिकदेखि गतिविधि थालेको भीसी फोर्सको नेतृत्व धर्मगुरु आत्मानन्द लिङदेनका माहिला छोरा 'द बोस' ले गरेका छन् । खास नाम पारस भएका उनलाई कर्र्णोल भनेर सम्बोधन गरिने गरेको प्रतिवेदनमा छ । एक साताअघि मानव अधिकारकर्मी, सञ्चारकर्मीलगायतले माङसेवुङको स्थलगत अनुगमन गरेका थिए । जिल्लाको दक्षिण पश्चिम क्षेत्रमा रहेको माङसेवुङमा द्वन्द्वकालमा विस्थापित भएर र धार्मिक आस्थाको कारण ठूलो संख्यामा सर्वसाधारण आएका थिए । धार्मिकस्थलमा अहिले करिब १२ हजार सर्वसाधारण बस्दै आएका छन् । यता भीसी फोर्सले विकृति र विसंगति हटाउदै सकारात्मक काम मात्र गरेको माङसेवुङ मिडिया सोसाइटीका अध्यक्ष सेसेहाङ फियाकले दाबी गरे ।

No comments: