News

Feb 17, 2008

लिम्बूवान कार्यकर्ताहरु बिच साझा झण्डामा सहमत

लिम्वूवान डट व्लगस्पोट डटकम, धरान
दुई समूहमा बिभाजित संघीय लिम्बूवान राज्यपरिषदको दुवै नेतृत्व विवादित झण्डालाई साझा रुपमा प्रयोग गर्न सहमत भएका छन्। झण्डाको विषयमा विहीबार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आबद्ध परिषद र सञ्जुहाङ पालुङवाको नेतृत्वमा रहेको परिषदबीच झडप भएपछि लिम्बूवान संस्थाहरुको पहलमा सो सहमति भएको हो। धरान-१५ स्थित चुम्लुङ हिममा शुक्रवार भएको सो वार्तामा झण्डा साझा रुपमा प्रयोग गर्ने साथै झण्डाको स्वामित्वलाई अदालती प्रक्रियाबाट टुंगो लगाउने समेत दुवै पक्ष सहमत भएका छन्। विभिन्न संस्था, वुद्धिजीवीसमेत सहभागी सो वार्तामा अव अप्रिय घटना हुन नदिने समेत दुवैपक्ष सहमत भएका छन्। वार्तामा मञ्च आवद्ध कुमार लिङदेनको नेतृत्वमा रहेको परिषदका तर्फबाट सचिवालय सदस्य सूर्य माखिम र लासिम पालुङवा सहभागी थिए भने अर्को पक्षका केन्द्रीय सदस्य विक्रम तुम्वाहाम्फे र मिक्लुक थुमक सह-सचिव तारा पन्धाक सहभागी थिए। गत पुष महिनामा सञ्जुहाङ पालुङवाको अध्यक्षतामा रहेको परिषदलाई मन्ञबाट छुट्टै अस्तित्वमा लान खोजेको आरोप लगाउदै अध्यक्ष पालुङवा महासचिव फागोहाङ वनेम, केन्द्रीय सदस्य जनक चेम्जोङ र रामभक्त कुरुम्वाङलाई निष्कासन गरेको विज्ञप्तिपछि परिषद्‍मा विवाद शुरु भएको थियो। परिषद गठन भएदेखि नै मञ्च आवद्ध रहेका र केही व्यक्तिहरुले अलग गर्न खोजेकोले निष्कासन गरेको मञ्च आवद्ध परिषदका अध्यक्ष कुमार लिङदेनको दावी छ। उता पालुङवाको नेतृत्वमा रहेको परिषदले भने गठनदेखि नै परिषद स्वतन्त्र सामाजिक संस्था रहेको जिकिर गर्दै आएको छ। परिषद आधिकारिकताको विवाद त्यतिमा सीमित रहेन। परिषदको विवादसंगसंगै सेतो पृष्ठभुमिमा १७ वटा कोठा भएको सूर्य अंकित झण्डाको स्वामित्व आधिकारिताको विवाद पनि उत्तिकै चर्कियो। राष्ट्रिय मञ्चले आफूलाई पार्टीको रुपमा दर्ता गरी चुनाव चिन्हसमेत प्राप्त गरिसकेको छ। पालुङवा नेतृत्व रहेको परिषदले यही कुरालाई आधार मानेर मञ्च आवद्ध परिषदलाई परिषद्को नाम र झण्डा लिएर कार्यक्रम नगर्न भन्दै आएको थियो। उहाँहरु मञ्चको नाममा पार्टीको रुपमा दर्ता भइसकेकोले परिषदको नाम र झण्डा प्रयोग नगर्न भनेको हौ। - पालुङवा नेतृत्व रहेको परिषदका केन्द्रीय सदस्य जनक चेम्जोङले भने। झण्डाको विषयमा दुवैपक्षको विवादले गम्भीर मोड लिइसकेको विहीवार धरानको घटनाले पुष्टि गरेको छ। मञ्च आवद्ध परिषदले आव्हान गरेको आमहड्तालको क्रममा धरानमा गरेको जुलुसको क्रममा परिषदले झण्डा प्रयोग गरेको भन्दै अर्को पक्षले आक्रमण समेत गर्‍यो सो क्रममा एक व्यक्ति घाइते भएका छन् भने २ जना आक्रमणमा संलग्न भएको आशंकामा पक्राउ परेका छन्।

No comments: