News

Feb 19, 2008

हङकङमा 'हङकङका कवि र कविताहरु'

लिम्वूवान डट व्लगस्पोट डटकम,देवराज राई, हङकङ / February 18, 2008
प्राय पार्टी भोजभतेर भइरहने व्यस्त कङ्गन रेष्टुरेण्टमा फेब्रुअरी १७ तारिखको अपरान्ह माहोल अलि बेग्लै प्रकारको थियो । हङकङेली माटोमा पलाएका, यहीको माटोको वास्ना आउने नेपाल र नेपाली स्मरण गराउने कवि लेखकहरु एकै ठाउँमा भेला भएका थिए । धेरैले आफ्ना नयाँ सृजनाहरु गीत, कविताहरुलाई खुल्ला छातीले वाचन गरिरहेको देखिन्थे । अरुले वाचन गरिरहँदा ध्यानमग्न भई सुनिरहेको थिए । भनौ वातावरण पुरै साहित्यमय थियो ।
हङकङमा पहिलो पटक नेपाली साहित्यलाई आधार बनाएर कलम चलाइरहने कवि, गीतकारहरु एकै ठाउँमा भेला भएका थिए । थोरै नयाँ अनुहार, धेरै भने नाम चलेका, अलि जान्नेसुन्ने कविहरु पनि भेला भएका थिए ।
वातावरण साच्चिकै रमाइलो थियो । कार्य व्यस्तताको वावजुद पनि कविहरु आफ्ना कविताहरु सुनाउन हतार गरिरहेको पनि देखिन्थे । थोरै समय निकालेर भएपनि भेला भएका कविमनहरुले ४ घंटासम्म व्यतित गरेका थिए । कङ्गन रेष्टुरेण्टको आयोजनामा कमल पौड्यालको सक्रियतामा आयोजित "हङकङका कवि र कविताहरु" कार्यक्रममा पहिलो पटक सम्पूर्ण कवि, लेखकहरुको उपस्थिति भएको थियो ।
अनौपचारिक कार्यक्रमको रुपमा कवियत्री लाराको संचालनमा शुभारम्भ गरिएको कवि गोष्ठीमा अंग्रजी वर्णाणुक्रमको आधारमा कवि र कवियत्रीहरुलाईलाई आफ्नो रचनाहरु पाठ गर्ने अवसर प्रदान गरिएको थियो । केशव प्रसाद भट्टराई, सुशील लम्सालसहित उत्तम न्यौपाने पहिलो पटक दूतावासको नेतृत्व नगरी अन्यसरह कवि भएर उपस्थित भएको उक्त कार्यक्रममा यनआरयन हङकङका अध्यक्ष त्रिलोक गुरुङ,च्याम्वर अफ कमर्शका अध्यक्ष, तेज राई, प्यासिफिक क्राउनका प्रशासन व्यवस्थापक वेद खड्का, जन सम्पर्क समिति हङकङका अध्यक्ष सन्तोष घले र हिन्सका अध्यक्ष बुद्दि बहादुर थापा आदिका श्रोताको रुपमा उपस्थिति रहेको थियो । ‘अल्फाबेटिकली’ कविता पाठ गर्न बोलाइएकोमा साना स्कुले भाइबैनीहरुसहित समाजमा अन्य क्षेत्रमा सफल व्यक्तित्वहरु पनि सो समयमा कविताको वाचन गरेका थिए । आकाश राई, अनिता गुरुङ, अशोक राई, आशा दाहाल, आशा भुटिया, हाङयुग अज्ञात, नरेश सुनुवार, भूपेन्द्र चेम्जोङ, भोगेन एक्ले, चन्द्र मादेन, रोशन लिम्बू, दिनेश सुब्बा, खेरेस देबेन्द्र, गणेश पराजुली, गँगा गुरुङ, कमल पौड्याल, केशव भट्टराई, लक्ष्मी राई, नागेन्द्र श्रेष्ठ, डीबी पालुङ्वा, मोती चाम्लिङ, नीर खड्का, प्रकाश नन्द बाक्सिला, प्रदीप कन्दङ्वा, प्रकाश छान्छाराई, राजेन्द्र थापा, सुशील लम्साल, सुप्रिया गुरुङ, शरण सुब्बा, शहर्ष कार्की, सोम थापा, सुरेन लिम्बू, रुपा बूढाथोकी, टँक सम्वाहाम्फे, उत्तम न्यौपाने, हिमकला राईले कविता, गजल पाठ गरेका थिए ।
एचनेपाल डटकमबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । कवि गोष्ठीको अर्को संस्करण आगामी ६ महिना पछि अगष्ट २० सम्ममा पुनः आयोजना गर्ने आयोजक कवि कमल पौड्यालले जानकारी दिनु भएको थियो । दिवाभोज सहित सम्पन्न भएको गोष्ठीमा कविहरुका नयाँ रचनाहरुलाईलाई संकलन गरिएको थियो । लाराको संचालनमा सम्पन्न भएको कार्यक्रममा रोशन लिम्बूले पनि उदघोषणमा साथ दिएका थिए ।

No comments: