News

Dec 15, 2008

संविधान सभाका समितिहरु गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाले सोमबार लामो समयदेखि प्रतीक्षा गरिएका विभिन्न समितिहरु गठन गरेको छ। ती समितिहरुले नयाँ संविधान लेख्ने तयारीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अधिकारीहरुले जनाएका छन्। संविधानसभाको निर्वाचन भएको आठ महिनापछि संविधान लेख्ने प्रक्रियाको ढोका खोल्ने समितिहरु सोमबार गठन गरिएका हुन्। त्यसरी गठन भएका समितिहरुमा एउटा संवैधानिक समिति र १३ वटा अन्य समितिहरु रहेका छन्। ती समितिहरुले मंगलबारदेखि नैं काम थाल्ने संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले बताएका छन्। उनले भने,"मंगलबार तीन बजे समितिहरुको बैठक बस्दैछ। यसले संविधान निर्माणको ढोका खुल्छ।" राजनितिक दलहरुले सहमति बनाइ नसकेको हुँदा कार्यतालिका अनुसार सोमबार नै समितिका सभापतिहरु चुनिइ सक्नुपर्ने हदम्याद भने गुज्रिएको छ। शर्माका अनुसार अब पुस पन्ध्र गतेभित्र सभापतिहरुको चयन भइसक्नेछ। सोमबार गठन भएका समितिहरु मध्ये सबैभन्दा महत्वपूर्ण मानिएको संवैधानिक समितिमा सबैजसो पार्टीहरुले आफ्ना शीर्ष नेताहरुलाई सदस्य बनाएका छन्। यो समितिले नयाँ संविधानको मस्यौदा तयार पारी पेश गर्ने जिम्मा पाएको छ।
सभापतिहरुको चयन भइनसकेसम्म प्रत्येक समितिमा त्यहाँ रहेका सदस्यमध्ये सबैभन्दा जेष्ठ सदस्यले सभापतित्व गर्ने प्रावधान रहेको छ।

No comments: