News

Dec 15, 2008

मध्यमर्स्याङदीबाट औपचारिक रूपमा विद्युत् उत्पादन शुरू

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालको दोस्रो ठूलो जलविद्युत् आयोजना मध्यमर्स्याङदीबाट आइतबारदेखि औपचारिक रूपमा विद्युत् उत्पादन शुरू भएको छ। यो आयोजना कालिगण्डकी ए’ पछिको दोस्रो ठूलो आयोजना हो। आइतबार एक समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ ले आयोजनाको विद्युत् गृहमा र्टवाइनको स्विच अन गरी विद्युत् उत्पादनको शुभारम्भ गर्नुभयो।मध्यमर्स्याङ्दीबाट कुल ७० मेगावाट विद्युत् उत्पादन हुने भए पनि हाल एउटा मात्र र्टवाइनबाट ३५ मेगावाट उत्पादन भएको छ भने थप ३५ मेगावाट आगामी २ महिनाभित्रमा उत्पादन हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।सन् २००१ बाट निर्माण शुरू भएको यो आयोजनाबाट २००४ देखि विद्युत् उत्पादन हुनपर्नेमा द्वन्द्व, बन्द, हडतालजस्ता विविध कारणले यो आयोजनाबाट ८ वर्षछि मात्र विद्युत् उत्पादन भएको छ। पहिला कुल १३ अर्ब रुपियाँ अनुमानित लागत मूल्य रहेको यो आयोजनाको समय दोब्बर लम्बिएर लागत मूल्य पनि २६ अर्ब रुपियाँको हाराहारीमा पुगेको छ।जर्मन सरकारको अनुदान तथा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको यो आयोजनाले राष्ट्रिय विद्युत् प्रसारण प्रणालीमा ११ प्रतिशत थप योगदान दिने भएको छ। यस आयोजनाबाट वाषिर्क ३९ करोड ८० लाख युनिट विद्युत् उत्पादन हुनेछ। यो बिजुली ४१ किलोमिटर लामो १३२ केभी प्रसारणलाइनबाट आबुखैरनीस्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रमा जोडिएको छ। आयोजनाको बाँध लमजुङको चिती र उदिपुर गाविसको सिमानामा पर्ने फलियासाँघु तथा विद्युत्गृह भोटेओडार गाविसको सिउडीबारीमा रहेको छ।समारोहमा प्रधानमन्त्री प्रचण्डले अर्थ, जलस्रोत, उद्योग र वनमन्त्रालयसँग छलफल गरी लोडसेडिङको अन्त्य गर्ने प्रयास भइरहेको र आगामी दुइ महिनाभित्र लोडसेडिङ हटाउने उपायका विषयमा सरकारले स्वदेशी तथा विदेशीसँग परामर्श लिइरहेको जानकारी दिनुभयो। जलस्रोतको विकास नगरीकन आर्थिक विकास नहुने भएकाले नयाँ संविधान लेखन र शान्ति प्रक्रियालाई तात्त्विक निष्कर्षा पुर्याउन आर्थिक विकास पनि सँगै लैजानुपर्छ नत्र भने यसले सफलता पाउन नसक्ने विचार उहाँले व्यक्त गर्नुभयो।प्रधानमन्त्री प्रचण्डले १० हजार ८ सय मेगावाटको कर्णली चिसापानी परियोजना अघि बढाउने विषयमा सरकारले छलफल अघि बढाउने जानकारी दिँदै थप विद्युत् आयोजनाको विकासका लागि सहयोग गर्न जर्मन सरकारलाई आग्रह गर्नुभयो।कार्यक्रमा जलस्रोत मन्त्री विष्णु पौडेलले यो परियोजना अनुमान गरिएभन्दा करिब दुइ गुणा लागत र समय बढेको उल्लेख गर्दै आगामी दिनमा अन्य परियोजनामा यस्तो स्थिति आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्राधिकरणका कार्यकारी निर्देशक उत्तरकुमार श्रेष्ठले माग बढेर साढे ७ सय मेगावाट तथा आपूर्ति केवल ४ सय मेगावाटको हाराहारीमा रहेकाले थप साँढे ३ सय मेगावाट अपुग भएकाले सातामा ४५ घण्टा लोडसेडिङ गर्नुपरेको जानकारी दिनुभयो। साथै हाल निर्माणका प्रक्रियामा रहेको साना तथा ठूला गरी एक दर्जन आयोजनाको निर्माण सम्पन्न भए आगामी ५ वर्षछि नेपालमा लोडसेडिङ नहुने श्रेष्ठले बताउनुभयो।सो अवसरमा सरकारका मुख्य सचिव डा. भोजराज घिमिरे, जलस्रोत मन्त्रालयका सचिव शंकर कोइराला, जर्मन राजदूत भेरिना ग्य्राफिन भेरेना रोइड्रन, केएफडब्लु विकास बैंकका कार्यकारी निर्देशक वल्फ ग्याङ र परियोजनाका निर्देशक सुनीलकुमार ढुंगेलले पनि आ-आफनो विचार राख्नुभएको थियो।

No comments: