News

Dec 14, 2008

माओवादी पूर्वजनसरकार प्रमुखलाई बहुविवाहको आरोप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा (माओवादी) मोरङका पूर्वजनसरकार प्रमुख प्रेम मिभक लिम्बू (दृष्टि) विवादास्पद रूपमा बेहुलो बनेका छन् । भर्खरै नयाँ दुलही भित्र्याएका उनी केराबारी-८ मोरङकी पूर्वमाओवादी छापामार कुमारी लिम्बू (स्मृति) सँग अंशमुद्दा पनि झेलिरहेका छन् । मोरङको टाँडी-५ का प्रेमले धनकुटा, राजारानी निवासी कमल चेम्जोङकी छोरीसित विवाह गरेका हुन् । शनिबार उनको घरमा भव्य भोज थियो । उता, न्यायका लागि माओवादी पार्टी कार्यालय काठमाडौं पुगेकी स्मृति पनि इटहरी हुँदै यतिबेला मोरङ आएकी छन् । प्रेमको पहिलो विवाह आफूसित भइसकेको दाबी गर्दै उनले बहु-विवाहको मुद्दासमेत हाल्न लागेको बताइन् । जनयुद्धकालमा आफू जनमुक्ति सेनामा क्रियाशील रहेको र दृष्टि राजनीतिक कमिसार रहेका बेला आफूहरूबीच प्रेमका साथै शारीरिक सम्बन्धसमेत कायम भएको उनको दाबी छ । भूमिगत अवस्थामै धरानस्थित विजयपुर बुढासुब्बा मन्दिरमा आफू र प्रेमले विवाह गरेको स्मृतिको भनाइ छ । तर, आफूलाई श्रीमतीका रूपमा नस्विकारेपछि उनले गत वर्ष ५ असोजमा मोरङ जिल्ला अदालतमा अंश दिलाइपाऊँ भन्दै मुद्दा हालेकी थिइन् । उनको मुद्दामाथि अदालतमा यतिबेला सुनुवाइ भइरहेको छ । माओवादी मोरङ र केन्द्रीय कार्यालयमा समेत स्मृतिले उजुरी गरेकी छन् । केटीतर्फका वकिल पेशलकुमार न्यौपानेका अनुसार ६ पुसमा सादा तारेखपछि यो मुद्दा पेसीमा चढ्दै छ । प्रेमका तर्फबाट माओवादी समर्थक वकिल हरि फुयाँलले मुद्दामा बहस गरिरहेका छन् । स्मृतिले गराएको मुद्दा दर्ता नम्बर २७-०६४/००२३० हो । 'अदालतको मुद्दा नटुंगिँदै अर्को विवाह गर्नु सम्मानित अदालतको मानहानी हो र यो सीधै बहुविवाह पनि हो,' स्मृतिले भनिन् । आफूले पार्टीमा गरेको उजुरीमाथि पनि बेवास्ता भइरहेको उनले बताइन् । प्रेमले अर्को विवाह गर्ने खबर पाएपछि उनले बुधबार कोचिला राज्यसमितिका इन्चार्ज हरिबोल गजुरेल (शीतलकुमार) लाई फोन गरी न्यायका लागि आग्रह गरेकी थिइन् । तर, गजुरेलले आफूलाई जागिर मिलाइदिने प्रलोभन देखाएर 'पुरानो अदालत'को मुद्दा फिर्ता लिन आग्रह गरेको उनको दाबी छ । 'मलाई जागिर होइन, न्याय चाहिएको छ,' स्मृतिले भनिन् । विवाहपछि एक महिनासम्म दुवैजना सँगै काठमाडौं बसेको र एक निजी अस्पतालमा तीन महिनाको गर्भ फ्याँकेको उनले नयाँ पत्रिकासित बताइन् । 'अहिले हामी युद्धको मोर्चामा छाँ । गर्भ नफ्याँके गाह्रो हुन्छ । आखिरमा हामी दुवैको विवाह भएकै हो । चिन्ता मान्नुपर्दैन भनेर मलाई विश्वास दिलाएका थिए,' उनले भनिन् । आरोपित प्रेमले भने स्मृतिसँग विवाह गरेको कुरामा कुनै सत्यता नभएको दाबी गरेका छन् । 'प्रोपोगान्डा मच्चाउँदैमा केही हुनेवाला छैन । उनको आक्षेपका कारण म आजीवन विवाह नगरी बस्ने कुरा पनि आएन,' उनले भने, 'माओवादी र अदालतले जबर्जस्ती विवाह गराएर हुँदैन ।'माओवादी पार्टीले यी दुईको यौन-मुद्दा मिलाउन प्रयास नगरेको पनि होइन । पार्टीसमक्ष प्रेमले स्मृतिसँगको शारीरिक सम्बन्धलाई स्विकारे पनि पछि नाता पर्ने थाहा पाएकाले विवाह गर्न नमिलेको तर्क गरेको माओवादी स्रोत बताउँछ । तर, चेम्जोङ थरकी केटीसित बिहेबारी नचल्ने भने पनि फेरि उनले चेम्जोङकै छोरी बिहे गरेका छन् ।सरकारी अदालतले कारबाही गरिनसकेको भए पनि माओवादीबाट भने प्रेमले यो केसमा सात महिनाको निलम्बन भुक्तान गर्नुपरेको माओवादी पार्टी स्रोतले बतायो । जनमुक्ति पार्टीबाट माओवादीमा प्रवेश गरेका लिम्बू सुनसरीमा पनि परिचित युवा कार्यकर्ता हुन् । संकटकालका बेला उनले सुनसरी जिल्लामा समेत माओवादीको जिम्मेवारी सम्हालेका थिए । उता, स्मृति पनि केराबारी-६ स्थित सार्वजनिक माविमा कक्षा-९ मा पढ्दा-पढ्दै संकटकालमै बन्दुक बोकेर हिँडेकी किशोरी हुन् ।

No comments: