News

Dec 17, 2008

शिवपुरीमा फेला परेको अवशेष मानवको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काठमाण्डू नजिकैको शिवपुरी जंगलमा एकवर्ष अगाडि भेटिएका वस्तुहरुमा मानव अवशेष समेत रहेको विदेशी विशेषज्ञहरुको टोलीले जनाएको छ। सो ठाउँमा द्वन्द्वकालमा बेपत्ता पारिएका भनिएका मानिसहरुमध्ये केहीको लाश गाडिएको आशंका विभिन्न मानव अधिकारवादी संगठनहरूले गरेका थिए। राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्न खटाएको फिनल्याण्डका विशेषज्ञहरुले ती वस्तुहरुमा कम्तीमा एकजना पुरुषको अवशेष भेटिएको प्रतिवेदन बुझाएका छन्। शिवपुरीमा संकलित वस्तुहरुका केही नमूना फिनल्याण्डको सुविधासम्पन्न प्रयोगशालामा परीक्षण गरेपछि त्यसको प्राविधिक प्रतिवेदन विशेषज्ञहरुले बुझाएका हुन्। प्रतिवेदन प्राप्त गरेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले भने, "शंकास्पद स्थानमा पाइएको अवशेष मानवीय अवशेष भएको पाइयो। कम्तीमा एकजना पुरुषको अवशेष पाइएको छ। विशेषज्ञहरुको अनुमान अनुसार त्यो अवशेष कम्तीमा तीनवर्ष पहिले त्यहाँ जलाइएको हुनुपर्छ," उपाध्यायले भने। शिवपुरीको जंगलमा सेनाले पाँच वर्षदेखि बेपत्ता पारेको भनिएका केही मानिसहरुको लाश गाडिएको ठाउँ पत्ता लागेको दावी गरिएपछि आयोगले छानवीन गरेको थियो। सो स्थलबाट शंकास्पद ठानिएका जलेका काठका ठुटा, प्लाष्टिक, कपडाका टुक्रा, कोइला जस्ता देखिने वस्तु आदि संकलन गरेर आयोगले छानवीन अगाडि बढाएको थियो। नेपालभित्रै गरिएको प्रारम्भिक अनुसन्धानबाट तथ्य पत्ता नलागेपछि त्यसलाई विदेश पठाइएको थियो। विदेशी विशेषज्ञहरुको प्रतिवेदनबाट पनि सन्तुष्ट हुनेगरी आयोगले सबै प्रश्नहरुको जवाफ भने पाएको छैन। प्राप्त मानव अवशेष कसको हो र त्यो बेपत्ता पारिएका भनिएकाहरु मध्येकै कसैको हो कि होइन भन्ने प्रष्ट भइसकेको छैन। आयोगका सदस्य एवं प्रवक्ता गौरी प्रधानका अनुसार सेनाको भैरवनाथ गणबाट बेपत्ता पारिएका भनिएका ४३ जनामध्ये उक्त अवशेष सम्बन्धित व्यक्तिको भए नभएको सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइने छ। तर आयोगका अनुसार त्यहाँ सामूहिक चिहान रहेको भने पाइएन। "त्यहाँ प्राप्त अन्य नमुनाहरुमा मानव अवशेष नभेटिएकाले त्यहाँ लाशहरु गाडिएको हुन नसक्ने देखिन्छ," प्रधानले बताए। आयोगले हालै प्रकाशित गरेको तथ्यांक अनुसार राज्य र माओवादी दुवै पक्षबाट गरी द्वन्द्वकालमा बेपत्ता पारिएका करीब एक हजार मानिसहरुको स्थिति अझै पनि अज्ञात रहेको छ।

No comments: