News

Dec 17, 2008

माओवादीको केन्द्रीय कमिटीमा जिम्मेवारीमा केही हेरफेर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सत्तारुढ प्रमुख दल नेकपा माओवादीको केन्द्रीय कमिटीको मंगलबार केन्द्रीय कार्यालय, बुद्धनगरमा बसेको बैठकले साङ्गठनिक विभागको जिम्मेवारीमा केही हेरफेर गरेको छ । बैठकले वरिष्ठ नेता मोहन वैद्य 'किरण' लाई केन्द्रीय सङ्गठन विभागको प्रमुख बनाएको छ । त्यसैगरी सरकारमा रहेका केही मन्त्रीहरुलाई क्षेत्रगत जिम्मेवारीबाट मुक्त गरिएको छ । सरकार, सदन र सङ्गठनको कार्यको बाँडफाँट गरिएको र एक व्यक्ति एक पदको अवधारणा सापेक्ष रुपमा ल्याउन लागिएको कुरा बैठकपछि नवनियुक्त प्रवक्ता दीनानाथ शर्माले पत्रकारहरुलाई बताउनुभयो । बैठकले क्षेत्रगत कार्य विभाजनअर्न्तर्गत सेती महाकालीमा प्रकाण्ड, थारुवानमा प्रतीक, किरातमा वसन्त, भोजपुरमा बलदेव, मिथिला क्षेत्रमा मातृका यादव र प्रवास क्षेत्रमा गौरवलाई इन्चार्ज तोकेको छ । मोर्चाका कमान्डरहरु भने यथावत नै रहेको र यो प्रारम्भिक कार्यविभाजन भएको प्रवक्ता शर्माले उल्लेख गर्नुभयो । एकता केन्द्र मसालसँग पुस महिनाभित्रै एकीकरण भइसक्ने र त्यसपछि वृहत् रुपमा कार्यविभाजन गर्ने बैठकले निर्णय गरेको छ । कुनै राजनीतिक दल र व्यक्तिविरुद्ध राष्ट्रिय गणतान्त्रिक मोर्चा गठन गर्ने निर्णय नभएको बताउँदै प्रवक्ता शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत र राष्ट्रियताको संरक्षणका लागि मोर्चा बनाइने स्पष्ट पार्नुभयो । उहाँले सरकार र संसदको बेग्लाबेग्लै आचारसंहिता बनाएर सार्वजनिक गरिने पनि उल्लेख गर्नुभयो ।

No comments: