News

Dec 15, 2008

राष्ट्रपति जर्ज डब्लु बुसमाथि पहिलो जुत्ता प्रहार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बग्दाद/ 'यो तिम्रो बिदाइ चुम्बन हो, कुकुर !' रिसले बर्बराउँदै एक इराकी पत्रकारले संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जर्ज डब्लु बुसमाथि पहिलो जुत्ता प्रहार गरे । उनले आफैंले लगाएको जुत्ता खोलेर बुसलाई हिर्काएका हुन् । बग्दादका अल बग्दादिया टेलिभिजनका स्टि्रन्जर संवाददाता मुन्तदार अल-जइदीले बुसलाई दोस्रो जुत्ता प्रहारसँगै अरविकमा गाली गर्दै भने- 'यो जुत्ता चुम्बन विधवा, टुहुरा र इराकमा मारिएका नागरिकको तर्फबाट हो ।' जइदीले प्रहार गरेका दुवै जुत्ता छल्न बुस सफल भए । जुत्ता उनको टाउकोमाथिबाट गएर अमेरिकी र इराकी झन्डालाई छँुदै भित्तामा ठोक्कियो । र, पछारियो । अरब राष्ट्रमा जुत्ता देखाउनुलाई अपमानजन्य मानिन्छ । इराकीहरूले सद्दाम हुसेनको पतनपछि उनको सालिकलाई जुत्ताले पिटेका थिए । तर, बुसले यस घटनालाई गम्भीरतापूर्वक नलिएको बताएका छन् । उनले भने- 'मैले आफ्नो कार्यकालमा यस्ता कैयौं अनौठा घटना भोगेको छु । यो आममानिसको ध्यानार्कषण गर्ने तरिका हो । यो घटनाले इराकी पत्रकार पनि दुःखी भएका छन् ।' उनले घटनासम्बन्धी ठट्टासमेत गर्दै भने- 'यदि तपाइर्ंलाई यसको पूर्ण विवरण चाहिन्छ भने यो जुत्ता १० नम्बरको थियो ।' जुत्ता प्रहार गरिएका बेला बुस र इराकका प्रधानमन्त्री नुरी अल मल्लिकी पत्रकार सम्मेलन कार्यक्रममा अगाडि उभिइरहेका थिए । राष्ट्रपति बुस अचानक इराक पुगेका थिए । त्यसपछि उनी अफगानिस्तान पुगे । आफ्नो कार्यकाल सकिनुभन्दा ३७ दिन मात्र रहँदा बुस इराक पुगेका हुन् । सुरक्षाकर्मीले मुन्तदार अल जइदीलाई आफ्नो नियन्त्रणमा लिएका छन् । बग्दादका टेलिभिजन स्टेसनले जइदीको तुरुन्त रिहाइ गरिनुपर्ने माग गरेका छन् । इजिप्टको कायरोबाट प्रसारित हुने टेलिभिजन स्टेसनले प्रेस विज्ञप्तिमा भनेको छ- 'अमेरिकी अधिकारीले इराकी जनतालाई प्रतिबद्धता गरेको लोकतन्त्र र वाक्-स्वतन्त्रतालाई आधार मान्दै मुन्तदर अल-जइदीलाई तुरुन्त रिहाइको माग अल-बग्दादिया टेलिभिजन गर्छ ।' टेलिभिजन स्टेसनका प्रोग्रामिङ डाइरेक्टरले जइदी गाैरवशाली अरब र खुल्ला विचारधाराका व्यक्ति भएको बताएका छन् । जइदीको सुरक्षाको चिन्ता आफूहरूलाई लागेको पनि उनले बताए । इराकमा हिंसा न्यून भएको र भर्खरै सम्झौता भएको संयुक्तराज्य अमेरिका-इराक सुरक्षा सम्झौताको खुसियाली मनाउन बुस इराक पुगेका थिए । यस सम्झौताअनुरूप सन् २०११ को अन्त्यतिर इराकबाट अमेरिकी सेनालाई फिर्ता लान सकिनेछ ।

No comments: