News

Dec 15, 2008

निखिल उप्रेती पाइलट बन्ने धुनमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
निखिल उप्रेती अभिनेतामा मात्र सीमित हुन चाहँदैनन् । पाइलट बन्ने मन छ उनको । जहाज उडाउने नभए पनि उनी अहिले प्याराग्लाइडिङको प्रशिक्षणमा व्यस्त छन् । प्रशिक्षण लिँदै गरेका निखिलले भने- 'अभिनयबाहेक अरू काम पनि गर्न मन लाग्यो । फिल्मभन्दा केही पर पनि जिन्दगी छ भन्ने सोचले प्याराग्लाइडिङ पाइलट टे्रनिङ गरिरहेको छु ।' भन्छन्- 'दस दिन भयो । प्राक्टिकल, थ्यौरी अहोरात्र गरिरहेको छु । अझै दस दिन यसैमा हुन्छु ।' कलिउडमा स्टन्ट हिरोका रूपमा जमिरहेका निखिललाई प्याराग्लाइडिङ पाइलट बन्ने सोख पहिलादेखि नै रै'छ । फिल्मकर्ममा व्यस्त भएकाले आफ्नो सोखलाई यत्रो वर्ष मनभित्रै गुम्साउनुपरेको सुनाए उनले । अहिले निखिल फिल्मी ह्याङबाट केही समय मुक्त रहनका लागि पोखरातिर लागेका छन् । भन्छन्- 'सधैं सुटिङ, सधैं उही फाइट । कति गर्नू ?' प्याराग्लाइडिङ प्रशिक्षण सोख पूरा गर्नका लागि मात्र सिकिरहेको बताए । 'भोलिका दिनमा कुनै निर्माताले आफ्नो फिल्ममा प्याराग्लाइडिङ सिन आश गरेमा दिन तयार छु'- उनले भने । निखिले दिएको जानकारीअनुसार उनले यो कोर्स गर्नका लागि झन्डै डेढ लाख रुपैयाँ खर्च गरेका छन् । उनलाई 'पाइलट टे्रनिङ' विदेशी टिचरले दिइरहेका छन् । 'पाइलट टे्रनिङ' गु्रपमा उनी एकजना मात्र नेपाली छन् । अरू सबै विदेशी छन् । 'आफंै हावामा उड्ने सपना थियो । पूरा गर्दै छु'- उनले भने- 'अहिले यहाँ सिकिरहेका प्रशिक्षार्थीमध्ये छोटो समयमै धेरै सिक्नेमा गनिएको छु । टिचरहरू मेरो सिकाइ देखेर खुसी हुनुहुन्छ ।' निखिल यो टे्रनिङपछि अन्तर्राष्ट्रिय पाइलटको लाइसेन्स लिने सोचमा छन् । यसो गरेमा उनी अन्य जुनै मुलुकमा गए पनि निर्धक्कसँग प्याराग्लाइडिङ गर्न पाउँछन् । यति मात्र कहाँ हो र ! लाइसेन्स लिएपछि उनले आफ्नो नामको अगाडि पाइलट लेख्न पाउछन रे ! भने- 'यो त प्लेन पाइलटभन्दा अझै माथिल्लो स्तरको टे्रनिङ रै'छ । यो एड्भान्सड् कोर्स हो । रात-दिन मिहिनेत गर्नुपर्छ ।' निखिल पोखराको सराङकोटबाट प्याराग्लाइडर चढेर पामेमा ओर्लन्छन् । पोखराका मिडियाले 'निखिल प्याराग्लाइडिङ पाइलट बन्दै छन्' भनेर सूचित गरेपछि पामेमा उनलाई स्वागत गर्न स्कुले केटाकेटीदेखि लिएर गाउँभरिकै मान्छे फूलमाला, अबिर लिएर उनको स्वागत गर्न लामबद्ध हुने गरेका छन् । 'दर्शकको सद्भाव देखेर साह्रै खुसी लागेको छ,' निखिलले भने, 'आज तीनवटा फ्लाइट छन् । एउटा फ्लाइटमा आधा घन्टाजति लाग्छ । हावाको वेगसँगै एक्लै आकाशमा उड्दा स्वर्गीय आनन्द आउँछ ।'

No comments: