News

Dec 14, 2008

नेपालमा बालश्रमिकमाथि हुने यौनजन्य हिंसा कहालीलाग्दो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालमा स्कुले बालबालिका र घरेलु बालश्रमिकमाथि हुने यौनजन्य हिंसा कहालीलाग्दो गरी बढ्दै गएको एक अनुसन्धानले देखाएको छ । नेपालका ४५ प्रतिशत स्कुले बालबालिका यौन दुव्र्यवहारको सिकार हुने गरेका छन् भने विद्यालय जानबाट वञ्चित ५६ प्रतिशत घरेलु बालश्रमिकमाथि यौन दुव्र्यवहार हुने गरेको छ । नेपाल प्रहरी महिला तथा बालबालिका केन्द्रका अनुसार पीडित घरेलु बालश्रमिकमा १३ देखि १८ प्रतिशत बालबालिका प्रत्यक्ष यौन हिंसाको सिकार हुने गरेका छन् ।केन्द्रले उपलब्ध गराएको 'बाल यौन दुव्र्यवहार तथा शोषण'सम्बन्धी प्रतिवेदनमा आर्थिक वर्ष ०६४/६५ मा मात्रै जबर्जस्ती करणीका तीन सय ८२ मुद्दा प्रहरीकोमा दर्ता भए । सोही अवधिमा मात्रै बालबालिकाविरुद्ध दुई हजार तीन सय ८६ अपराधका घटना 'रेकर्ड' भएका छन् । त्यसबाट दुई हजार तीन सय ९९ व्यक्ति प्रभावित भएका छन् । यौन हिंसाका सिकार बनेकामध्ये दुईतिहाई १६ वर्षभन्दा कम उमेरका छन् । बालबालिकामाथि भएका यौनजन्य पछिल्ला तीन सय ८२ घटनामा मात्रै दुई सय ६५ जना बालबालिका १६ वर्षमुनिका छन् । त्यसैगरी, प्रहरी अनुसन्धानले जबर्जस्ती करणीसम्बन्धी त्यत्तिकै कहालीलाग्दो तस्बिर प्रस्तुत गरेको छ । गत आर्थिक वर्षमा दर्ता भएका तीन सय ८२ जबर्जस्ती करणीसम्बन्धी अपराधमा चार सय २४ जना व्यक्ति संलग्न रहेको र उनीहरू सबै पुरुष छन् । जबर्जस्ती करणीमा संलग्नमध्ये तीन सय ९० जना अभियुक्त १६ वर्षमाथिका रहेका छन् । ३४ जना अभियुक्त मात्र १६ वर्षभन्दा कम उमेरका छन् । अभियुक्तमध्ये पनि १७ देखि २५ वर्ष उमेर समूहका दुई सय १८ जना, २६ देखि ३५ वर्ष उमेर समूहका ८३ जना र ३६ देखि ४५ वर्षका ६१ जना रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, ४६ वर्षमाथिका उमेर समूहका २८ जना अभियुक्त छन् । तीमध्ये ८६ वषर्ीय वृद्धसमेत यौन दुव्र्यवहारमा संलग्न रहेको प्रहरी नायव उपरीक्षक दुर्गा सिंहले बताइन् । यौनजन्य अपराध साताको सबै दिनमा भएका र आइतबार सबैभन्दा बढी हुने गरेका प्रतिवेदनमा उल्लेख छ । त्यस्तै जबर्जस्ती करणीका घटना गर्मी समयमा बढी हुने गरेको उपरीक्षक सिंहले बताइन् । सन् २००७ मा सिविन नेपालमा रेकर्ड गरिएका आठ हजार आठ सय पाँच घटनामध्ये दुई सय एक बलात्कारका र २५ वटा यौनशोषणका घटना छन् । त्यस्तै, बालबालिकाविरुद्ध घरेलु हिंसाका १६, यातनाका एक सय ५४, बालहत्या ५१, हत्या प्रयासका १४ र २४ नवजात शिशु हत्याका घटना छन् । अभियुक्तहरूले अश्लील फिल्म र मोबाइलमा समेत अश्लील भिडियो रेकर्ड गरी बालबालिकालाई देखाएर यौनशोषण गर्ने गरेका घटना बढ्दै गएको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ । प्रहरीले धेरै बालबालिका नचिनेकोभन्दा परिचितहरूबाट यौन दुव्र्यवहारको सिकार हुने गरेको बताएको छ । 'बालबालिकामाथि हुने यौनजन्य अपराधका घटनाहरू बढ्दै छन् । पछिल्लो तथ्यांकले यही देखाउँछ,' प्रहरी नायव उपरीक्षक सिंहले भनिन्, 'अपराधको मात्रा कति बढ्यो भन्नेबारे हामीले तथ्यांक विश्लेषण गर्दै छौं । तर अपराध बढेको छ ।'

No comments: