News

Dec 14, 2008

महिला च्याम्पियनसिप क्रिकेटमा नेपालको विजय सुरुवात

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
शनिबारदेखि थाइल्यान्डमा सुरु भएको युथ १९ एसिसी महिला च्याम्पियनसिप क्रिकेटको समूह 'बी'मा नेपालले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । चियाङ माई क्रिकेट मैदानमा नेपालले टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णय लिएको थियो । पहिलो ब्याटिङ गरेको मलेसियाले नेपाली बलरको सामना गर्न नसक्दा २१.२ ओभरमा सबै विकेट गुमाएर ५१ रनको सामान्य योगफल खडा गरेको थियो । प्रतित्युत्तरमा नेपालले १५ ओभर २ बलमा मात्र ३ विकेट खर्चिएर ५२ रन बनाएर जित हात पारेको थियो । नेपालका लागि रेणु बुढामगरले अविजित १७ रनको योगदान गरेकी थिइन् । नेपालको सुरुवात खासै राम्रो हुन सकेन । माया रावत र सीता मगरबीच पहिलो विकेट निमित्त ५ ओभरमा १६ रनको साझेदारी भएको थियो । लड्रेलीले सीतालाई ४ रनमा बोल्ड गरेकी थिइन् । त्यसपछि माया र तृष्णा सिंहबीच दोस्रो विकेट लागि ९ रनको झिनो साझेदारी हुन सक्यो । यसपटक सुम्गुगामले तृष्णालाई आशाबाट क्याच आउट गराइन् । तृष्णाले १६ बलमा एक चौका प्रहार गरी ७ रनको ठोस पारी खेलिन् । चौथो क्रमकी क्याट्सम्यान रोशनी बोहराले विना कुनै खाता खोली आफ्नो विकेट गुमाइन् । नेपालले बोहरालाई गुमाउँदा स्कोरबोर्डमा २७-३ को स्थितिमा थियो । प्रारम्भिक ब्याट्सम्यान माया र बिनु मगरबीच चौथो विकेट लागि २३ रनको अविजित साझेदारी भयो । मायाले ४१ बलको सामना गरी १३ रनमा अविजित रहिन् । यसैगरी, बिनुले २५ बलमा दुई चौकाको सहयोगमा १७ रनको योगदान दिइन् । यसअघि टस हारी पहिलो ब्याटिङ गर्न अवसर पाएको मलेसियाले पहिलो विकेट ५ रनको अवस्थामा गुमाएको थियो । सीता मगरले आफ्नो पहिलो स्पेलको पहिलो बलमै टुकोकलाई बोहराबाट क्याच थम्याउन लगाउँदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाइन् । क्रिस्टिजा र एलेसान्ड्राबीच दोस्रो विकेट लागि १५ रनको सर्वाधिक बलियो साझेदारी भएको थियो । केशरी चौधरीले प्रारम्भिक ब्याट्सम्यान क्रिस्टिनालाई बोहराबाटै विकेटपछाडि १३ रनमा सहज क्याच समात्न लगाइन् । मध्यक्रममा सीता मगर र नेरी थापाले उत्कृष्ट बलिङ गरेपछि मलेसिया एक्कासि ४१-५ को कमजोर अवस्थामा आयो । नेरीले जोईलाई ८ रनमा तथा नुरलाई सीताले २ रनमा पेभेलियन फकाईन् । मलेसियाको ब्याटिङ पारीमा तीनजना ब्याट्सम्यानले खाता नै खोल्न पाइनन् । यसैगरी ६ जनाले दोहोरो अंक पनि कटाएनन् । बलिङमा सीता मगरले आठ ओभरमा एक मेडन राखी ८ रनमा एक विकेट लिइन् । यसैगरी, रेखा रावलले ४ ओभरमा १४ रनमा दुई विकेट चट्काइन् । बिनुले केवल दुई बलमा एक विकेट लिइन् । कप्तान नेरीको नेतृत्वमा रहेको नेपाली टोलीले आज भुटानविरुद्ध खेल्नेछ । पहिलो खेलमा नेपालकी बिनु मगर म्याच अफ द म्याच घोषित भइन् ।

No comments: