लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
न्युयोर्क/अमेरिकाको न्युयोर्कमा बम फेला परेको छ । अत्यन्त व्यस्त पर्यटकीय इलाका टाइम्स स्क्वायरमा फेला पारिएको कार बमलाई प्रहरीले निस्क्रिय बनाएको छ । प्रहरीले टाइम्स स्क्वायरको एउटा भाग सिल गरेको छ । राष्ट्रपति बाराक ओबामा र न्युयोर्कका मेयर माइकल ब्लुमवर्गले तदारुकताका साथ बम निस्क्रिय पार्ने न्युयोर्क प्रहरीको प्रशंसा गरेका छन् । पत्रकारसँग कुरा गर्दै ब्लुमवर्गले भने, 'हामी भाग्यमानी रहेछौँ । हामीले घातक घटनालाई छल्न सफल भयौँ ।' यो बम कसले किन राख्यो भन्नेबारेमा अहिलेसम्म जानकारी नभएको उनले बताए । प्रहरी प्रवक्ता पल ब्राउनेका अनुसार पाउडर, ग्यासिलिन, प्रोपेन तथा केही तार एक घडीसँग जोडिएको अवस्थामा कार फेला पारिएको थियो । भिडियो फुटेजमा एउटा मानिस बमजडित कारको पछाडिबाट कुदिरहेको दृश्य देखिएको छ । प्रहरीले यस भिडियो फुटेजको अनुसन्धान गरिरहेको छ । बमजडित कारको नम्बरप्लेट रजिस्टे्रसनसँग मेल नखाएको प्रवक्ता ब्राउनले बताएका छन् । कारबाट धुवाँ आएको जानकारी प्राप्त भएपछि टाइम्स स्क्वायरको सुरक्षास्थिति कडा पारिएको थियो । बम कसले र किन राखेको भन्नेबारे अनुसन्धान गर्न न्युयोर्क प्रहरीलाई अमेरिकी गुप्तचर संस्था (एफबिआई) ले सहयोग गर्ने भएको छ । सेप्टेम्बर ११ मा जुम्ल्याहा भवनमा भएको आक्रमणपछि न्युयोर्क प्रहरी सतर्क अवस्थामा रहने गरेको छ । गत डिसेम्बरमा पनि गाडीमा बम भएको जानकारी प्राप्त भएपछि टाइम्स स्क्वायरको एउटा भाग सिल गरिएको थियो । तर, पछि गाडीमा बम नभएर केवल कपडा मात्रै भेटिएको थियो । विश्वको सबैभन्दा ठूलो सहरका रूपमा चिनिएको न्युयोर्कको टाइम्स स्क्वायर पर्यटनका लागि अत्यन्त लोकपि्रय छ ।
No comments:
Post a Comment