News

Dec 22, 2012

मधेसी मोर्चाले प्याकेजमा सहमतिका लागि ९ बुँदे शर्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
७ पुस,संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्याकेजमा सहमतिका लागि ९ बुँदे शर्त अघि सारेको छ । मोर्चाको शनिबार सम्पन्न बैठकले पहिचान र समथ्र्यमा आधारित संघीयतावादी र संघीयता विरोधीहरुको द्वन्द्व नै अहिलेको प्रमुख द्वन्द्व भएको ठहर गरेको छ । मोर्चाले प्याकेजमा सहमतिका लागि अघि सारेको शर्तहरुमा विघठित संविधानसभाले गरेको सहमति, राज्य पुनःसंरचनासम्बन्धी समितिले तयार पारेको १४ तथा आयोगले तयार पारेको १० र अल्पमतको ६ प्रदेशको प्रस्तावलाई विवादकै रुपमा ग्रहण गरेर छलफल र अन्तिम निर्णयका लागि संविधानसभामा प्रस्तुत गर्नुपर्ने, संविधानसभाको कार्यकाल ५ वर्षको हुनु पर्ने र संविधान बनेपछि मात्र बाँकी अवधि संसद्मा रुपान्तरित गर्नुपर्ने र २०७० साल बैशाख मसान्तभित्र संविधानसभाको निर्वाचन सुनिश्चित हुनु पर्नेछ । यस्तै गत संविधानसभाको निर्वाचनका लागि तयार गरिएको मतदाता नामावलीमा अद्यावधिक गरेर दोस्रो संविधानसभाको निर्वाचन गराउनुपर्ने मधेसी मोर्चाको सर्त छ । प्याकेजमा सहमति भएपछि चुनावी सरकार गठनका लागि मधेसी मोर्चाले ३ विकल्प अघि पारेको छ । वर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वको सरकारलाई राष्ट्रिय स्वरुप दिने पहिलो विकल्पका रुपमा अघि सारेको मोर्चाले दोस्रो विकल्पमा संघीय लोकतान्त्रिक गणतान्त्रिक गठवन्धनका कुनै नेताको नेतृत्वमा सरकार गठनलाई दोस्रो विकल्पका रुपमा अघि सारेको छ । यस्तै प्रस्तावित प्याकेजका विषयमा सहमति भए चुनावी सरकारको नेतृत्वको अन्य विकल्पमा पनि छलफल गर्न सकिने मधेसी मोर्चाको तेस्रो विकल्प छ । मधेसी मोर्चाले प्याकेजमा सहमतिपछि बन्ने राष्ट्रिय सहमतिको सरकारले तोकिएको समयमा चुनाव गराउन नसके प्रधानमन्त्री स्वतः पदमुक्त हुने संवैधानिक व्यवस्था गर्नु पर्ने सर्त अघि सारेको छ । यस्तै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, सहमतिका आधारमा संवैधानिक अंगहरुमा पदपूर्ति गर्ने र संविधानसभामा प्रत्यक्षतर्फ रहेको २ सय ४० सिटलाई कायमै राख्दै समानुपातिकको संख्या सहमतिका आधारमा तोक्नु पर्ने मधेसी मोर्चाको शर्त छ ।

No comments: