News

Dec 22, 2012

यौनधन्दा गर्ने १९ युवती र २१ युवक पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
पोखरा, पुस ५ - प्रहरीले होटलहरुमा यौनधन्दा गर्नेमाथि कडाई गर्न थालेको छ। पछिल्ला केही दिनयता प्रहरीले पोखराको बाग्लुङ बसपार्क र लेकसाइडका होटलमा छापा मारी यौनकार्यमा संलग्न ४० जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमध्ये १९ युवती र २१ पुरुष छन्। उनीहरुलाई विशेष सुराकीका आधारमा वडा प्रहरी कार्यालय बगर र बैदाम चौकीबाट गएका प्रहरीले विभिन्न होटलबाट रंगेहात पक्राउ गरेको हो। बाग्लुङ बसपार्क क्षेत्रका होटलबाट २४ जना र लेकसाइडका होटलबाट १६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका धेरैजसो युवती २० वर्ष मुनिका छन्। उनीहरु पेशेवर यौनकर्मी भएको कास्कीका प्रहरी प्रवक्ता रवीन्द्र पौडेलले जानकारी दिए। उनकाअनुसार पक्राउ परेका पुरुषहरु पोखरा घुम्न आएका बाहिरी जिल्लाका हुन्। 'सार्वजनिक सदाचार र सामाजिक मर्यादा कायम राख्ने क्रममा उनीहरुलाई अनैतिक क्रियाकलाप गरेकाले पक्राउ गरिएको हो,' पौडेलले नागरिकसँग भने,'उनीहरु सबैलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइएको छ।' प्रहरीले सार्वजनिक मुद्दामा बढीमा २५ दिन हिरासतमा राख्न पाउने व्यवस्था छ। त्यसपछि जिल्ला प्रशासन कार्यालयमा पेश गर्ने र प्रमुख जिल्ला अधिकारीले बढीमा २८ हजार रुपैयाँसम्म जरिवानाको कारबाही गर्न सक्छन्। प्रहरी प्रवक्ता पौडेलकाअनुसार युवतीहरुले आफ्नै राजी-खुशीमा यौनकार्य गरेको बयान दिने गरेकाले दुवैपक्षलाई अश्लिल कार्यअन्तर्गत सार्वजनिम मुद्दा चल्ने गरेको छ। 'कोही युवतीले आफ्नो ईच्छा विपरित जोरजवर्जस्ती यौनकार्य गर्न बाध्य पारेको बयान दिए भने मानव बेचबिखन विरुद्वको कडा मुद्दा चलाउन सकिन्छ,' उनले भने,'युवतीहरु नै आफु सजिलै उम्कने गरी राजीखुशीमा यस्तो काम गरेको बयान दिन्छन्। ती पेशेवर भएकाले २५ दिनपछि छुटेर त्यही काममा फर्कन्छन्।' स्रोतकाअनुसार पक्राउ परेका पुरुष पोखरा घुम्न आउनेहरु धेरै छन्। धेरैजसो ३० वर्ष उमेर समूहका रहेको र उनीहरुले घर-परिवारलाई थाहा नदिन प्रहरीलाई अनुरोध गरिरहेका छन्।

No comments: