News

Dec 6, 2012

पारस फेरि पक्राउ, एक महिना सुधारगृहमा राख्न आदेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मंसिर २१ - थाइल्यान्डको फुकेट अदालतले लागुऔषध मुद्दामा दोषी ठहर गर्दै एक महिना सुधारगृहमा राख्न आदेश दिएलगत्तै पूर्वयुवराज पारस शाह फेरि पक्राउ परेका छन्। एक महिनाअघि पर्यटकीय नगर फुकेटमा गाँजासहित पक्राउ परेर धरौटीमा १२ दिने तारेख धाइरहेका पारसलाई सोमबार अदालतले 'बैङ जो प्रिजन' (दुर्व्यसनीको आचरण सुधार्ने ठाउँ) पठाउने आदेश दिएको थियो। उच्च स्रोतका अनुसार सोमबारै छातीमा पीडा भएको भन्दै फुकेटस्थित बैंकक अस्पताल पुगेका पारसले स्वास्थ्य परीक्षणपछि थङ्गलर प्रहरीचौकीमा हाजिर भएर बयान दिएका थिए। स्वास्थ्य खराबीले सुधारगृहमा उपस्थित हुन नसकेको बयान दिएलगत्तै प्रहरीले उनलाई अर्को आरोपमा पक्राउ गरेर विमानमा राखेर बैंकक पठाएको स्रोतको दाबी छ। उच्च स्रोतका अनुसार पारसलाई सुखमभितमा आफू बसेको होटलको कोठा तोडफोड गरेको उजुरीका आधारमा फेरि प्रहरीले नियन्त्रणमा लिएको हो। उनीविरुद्ध २० लाख थाई भाट (झन्डै ५६ लाख ८५ हजार ९ सय ४० रुपैयाँ) बराबरको क्षति पुर्‍याएको भन्दै होटल मालिकले उजुरी दिएका छन्। मंगलबार राति उनलाई थङ्लर प्रहरीचौकीबाट सिधै विमानबाट बैंकक पुर्‍याइएको स्रोतले जनायो। फुकेट अदालतले पारसलाई आउँदो मंगलबार (मंसिर २६) भित्र 'बैंङ जो प्रिजन' मा हाजिर हुन भनेको छ। उनीमाथि फुकेटमै भाडामा लिएको भिल्ला पनि तोडफोड गरेको आरोप पनि छ। दुई महिनाको अग्रीम भाडा बुझाइसकेकाले उक्त रकमबाट भिल्ला मर्मत गर्न पुग्ने देखेर यो आरोप भने अदालतसम्म नपुगेको स्रोतले जनायो। कात्तिक ७ गते फुकेटको एक होटलमा पुरुष र महिलाबीच झगडा चर्किएपछि होटल व्यवस्थापनले प्रहरी डाकेको थियो। छापा मार्दा पूर्वयुवराज पारस र एक थाई महिला भेटिए। पारस बसेको होटलको कोठामा त्यही क्रममा ३ दशमलव ४ ग्राम सुकेको गाँजा भेटिएको थियो। परिचय नखुलाइएकी ती महिलालाई माफी मागेकाले तत्काल छाडे पनि प्रहरीले पारसलाई पक्राउ गरेको थियो। उनले बरामद गाँजा आफ्नो नभएको दाबी गर्दै माफी नमाग्ने अडान लिएपछि घटना अदालत पुगेको थियो। एक रात प्रहरी हिरासतमा बिताएका पारसलाई एक थाई नागरिकले १० हजार थाई भाट धरौटी राखेर छुटाएका थिए। त्यसपछि प्रहरीले उनीमाथि फुकेट अदालतमा प्रतिबन्धित लागुऔषध बोकेको आरोपमा राहदानी जफत गरी मुद्दा चलाएको थियो। पूर्वयुवराज पारस पक्राउ परेको बारे थाइल्यान्ड प्रहरीले कात्तिक ११ गते बैंककस्थित नेपाली दूतावासलाई जानकारी गराएको थियो। लगत्तै उक्त खबर परराष्ट्र र गृह मन्त्रालयसम्म आएको थियो। परराष्ट्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्यसको औपचारिक जानकारी गराएको थियो। चितवनको टाइगरटप्स रिसोर्टमा कांग्रेस नेतृ सुजाता कोइरालाका ज्वाइँ रुवेल चौधरीलाई गोली हानेको विवादमा सार्वजनिक अपराध अभियोग खेपेका उनलाई जिल्ला प्रशासन कार्यालयले 'आइन्दा यस्तो नगर्ने' सर्तमा रिहा गरेलगत्तै उनी बैंकक गएका थिए। थाई राजपरिवारसँग पूर्वराजपरिवारको राम्रो सम्बन्धका कारण उनी सिंगापुरबाट थाइल्यान्ड सरेका थिए। स्रोतका अनुसार थाइल्यान्डका राजकुमार चुमासक कानोक्नानले पारसलाई सहयोग गर्दै आएका छन्। चुमासक पनि आफ्नो देशमा विवादित छविका हुन्। मध्यबैंककको सडकमा गोली चलाएर विवादमा तानिएका उनी युवतीसँगको सम्बन्धका कारण समेत बेलाबखत चर्चामा आउँछन्।

No comments: