News

Dec 11, 2012

चिनियाँ नोबेल शान्ति पुरस्कार विजेता लिउको रिहाइको पहल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बेइजिङ, २१ मंसिर नोबेल पुरस्कार विजेता तथा चिनियाँ अधिकारकर्मीले राजद्रोहको अभियोगमा कारागारमा रहेका चिनियाँ नोबेल शान्ति पुरस्कार विजेता लिउ सियाबोको रिहाइको पहल थालेका छन् । पहलका क्रममा उनीहरूले नवनिर्वाचित चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा केही महिनापछि चिनियाँ राष्ट्रपतिको पद सम्हाल्ने सी जिन्पिङलाई दुई छुट्टाछुट्टै पत्र लेखी सियाबोलाई तत्काल रिहा गर्न आग्रह गरेका छन् । चिनियाँ लेखक, वरिष्ठ अधिकारवादी तथा वकिलले बिहीबार नेता जिन्पिङलाई लेखेको पत्रमा चीनले विश्वमा एक शक्तिशाली राष्ट्रका रूपमा आफ्नो स्थान बनाइराख्न हाल जेलमा रहेका राजनीतिक बन्दीहरूको रिहाइ आवश्यक रहेको औँल्याइएको छ । 'विगतका वर्षदेखि जेलमा राखिएका सियाबोविरुद्ध लगाइएको आरोप गलत छ, त्यसैले उनलाई विनासर्त रिहाइ गरिनुपर्छ,' पत्रमा भनिएको छ । चिनियाँ सरकारले हालैका दिनमा राजनीतिक सुधारको काम अघि सारेको भन्दै यसको प्रारम्भिक चरणमा उनीहरूको रिहाइ गरिनुपर्ने बताइएको छ । २१औँ शताब्दीमा पनि राजनीतिक सुधारको माग गरेकै आधारमा नागरिकलाई जेल सजाय दिनेजस्ता कार्यले विश्वको ठूलो एवं शक्तिशाली देश चीनलाई फाइदा नगर्ने पनि सो पत्रमा स्पष्ट गरिएको छ । चीनमा राजनीतिक सुधारको प्रसंग उठिरहेेको र राजनीतिक सुधारका लागि नयाँ नेता लाग्ने भन्ने समाचार बाहिर आइरहेको समयमा राजनीतिक आस्थाका आधारमा बन्दी बनाइएकालाई तत्काल रिहा गर्न सके चीन सरकार र नयाँ नेतृत्व दुवैलाई राम्रो हुने पनि पत्रमा उल्लेख छ । चार वर्षअघि सियाबोले चीनमा मानवअधिकारको प्रत्याभूति र एक पार्टी प्रणालीमा सुधारको माग गरेकाले राज्यविरुद्धको अपराधको आरोपमा ११ वर्षको काराबासको सजाय भोगिरहेका छन् । थुनामै रहेको समयमा सन् २०१० मा उनलाई नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो । सो पुरस्कारको चीनले चर्को विरोध गर्दै आएको छ । यसअघि गत मंगलबार विश्वभरका एक सय ३४ नोबेल पुरस्कार विजेताले चिनियाँ कम्युनिस्ट पार्टीका नवनिर्वाचित राष्ट्रपति सी जिन्पिङलाई पत्र लेखी सियाबोको रिहाइको आग्रह गरेका थिए । सो पत्रको जवाफ दिँदै बुधबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता होङ लीले चीन कानुनी शासनको पालना गर्ने राष्ट्र भएकाले सियाबोलाई चिनियाँ कानुनको उल्लंघन गरेको आधारमा निश्चित् समयका लागि जेलमा राखिएको प्रस्ट पारेका थिए । चिनियाँ लेखक मो यानले आगामी हप्ता यस वर्षको नोबेल शान्ति पुरस्कार ग्रहण गर्ने तयारी गरिरहेका वेला यो आग्रहपत्र सार्वजनिक भएको छ । यसैबीच सियाबोकी पत्नी लिउ सियाले समाचार संस्था एपीसँग कुरा गर्दै घरमा बन्दी हुनुपर्दा निकै तितो अनुभव भएको बताएकी थिइन् । घरमा हाल टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध पारिएको, बुबाआमा भेट्न तथा उपभोग्य सामान खरिदका लागि हप्ताको दुईपटक घरबाहिर निस्कन छुट दिइएको र महिनामा एकपटक मात्र श्रीमान्लाई भेट्ने अवसर प्रदान गरिएको अन्तर्वार्ताका क्रममा उनले बताइन् ।

No comments: