News

Dec 1, 2008

चार वर्ष भयो निखिल उप्रेती र रेखा थापाको बोलचाल बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अहिलेका चर्चित कलाकार मानिन्छन्- अभिनेता निखिल उप्रेती र अभिनेत्री रेखा थापा । चार वर्ष भयो, यिनको बोलचाल बन्द भएको । त्यसपछि यी कलाकारले एउटै फिल्ममा अभिनय गरेका छैनन् । कुराकानीका क्रममा यी कलाकार एक-अर्कालाई 'अव्यावसायिक'को संज्ञा दिन पछि पर्दैनन् । यही 'दुश्मनी'का कारण रेखा थापा आफ्नो जग्गा बेच्ने सुरमा छिन् । एक-अर्कालाई दुश्मन देख्ने यी नायक/नायिका एकै ठाउँमा घडेरी किन्न पुगेछन् । यी दुईको घडेरी ललितपुरको बालकुमारीमा छ, त्यो पनि आमने-सामने । त्यही घडेरीमा निखिलले साढे दुईतले घर बनाइरहेका छन् । रेखा पनि पहिला त घर बनाउने सोचमा थिइन् । तर, आफ्नो छेउमै निखिलले घर बनाएको थाहा पाएपछि जग्गा बेच्ने सुरुमा छिन् । 'पहिला त्यहाँ घर बनाउँला भनेर घडेरी किनेकी थिएँ, अहिले बेच्ने सुरमा छु, बोल्दै नबोल्ने मान्छेलाई छिमेकी बनाएर बस्न सकिँदैन,' उनले भनिन् ।निखिलले भने आफूलाई रेखाको जग्गा त्यहीँ भएको थाहा नभएको बताए । पहिला निखिल र रेखाले थुप्रै फिल्ममा सँगै काम गरेका थिए । यी दुई कलाकारले अभिनय गरेको केही फिल्म सफल पनि भएका थिए । सामान्य विषयमा विवाद भएपछि यिनले बोलचाल नै बन्द गरेका थिए । आ-आफ्ना ठाउँमा यी कलाकार सफल छन् । तर, एक-अर्कालाई सफल मान्न तयार छैनन् । रेखा भन्छिन्, 'निखिल दाइ फिल्ममा उहाँले मेरो दाइको रोल निर्वाह गर्नुभएको थियो, दाइको रोल त ठीकै हो, हिरो भन्नचाहिँ सुहाउँदैन । उहाँ र मेरो 'डान्सिङ स्पिड' नै मिल्दैन ।' रेखाले निखिललाई हिम्मतबाट निकालेर विराज भट्टलाई आफ्नो फिल्ममा लिएपछि दाजुबहिनीको सम्बन्ध गाँसेका निखिल र रेखाबीच द्वन्द्व चर्किएको थियो । रेखाले निखिललाई हिरो नमानेजस्तै निखिल पनि रेखालाई अभिनेत्री मान्दैनन् । निखिलका अनुसार रेखा नखरेबाजीमा रमाउँछिन्, अभिनेत्रीमा हुनुपर्ने गुण छैन उनमा । अहिले उनीहरू सँगै फिल्म खेल्नै चाहँदैनन् । रेखालाई हिरोइन लिएको फिल्म निखिलले छाडेका छन् भने रेखाले त्यस्तै गरेकी छिन् ।

No comments: