News

Dec 4, 2008

भगौडा सुरक्षाकर्मीद्वारा सशस्त्र संघर्षको चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी युद्धका बेला सेवा छाडेका (भगौडा) पूर्वसुरक्षाकर्मीले सशस्त्र संघर्ष गर्ने चेतावनी दिएका छन् । तीनबुँदे माग राख्दै आन्दोलनमा उत्रिएका उनीहरूले आफ्ना शान्तिपूर्ण संघर्षबाट माग पूरा नभए संशस्त्र संघर्ष गर्ने चेतावनी दिएका हुन् ।नेपालगन्जमा बुधबार पूर्वसुरक्षाकर्मी र तीनका सयौं परिवारले प्रदर्शन गरेका छन् । उनीहरूले आफूलाई ज्यान मार्ने धम्की र पुनर्बहालीको आश्वासन दिएर सेवा छाड्न लगाउने माओवादी नै सत्तामा रहेकाले माग पूरा गराएरै छाड्ने बताए ।माओवादी कार्यकर्ताकै अगुवाइमा संगठित विस्थापित सुरक्षाकर्मी संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा वक्ता पूर्वप्रहरीले जुनसुकै हालतमा पनि आफूहरू पुनर्बहाली भएरै छाड्ने दृढता व्यक्त गरे । उनीहरूले सशस्त्र विद्रोहीका कारण आफूले बेरोजगार हुनुपरेकाले आवश्यक परे त्यसका लागि सशस्त्र विद्रोह गर्ने चेतावनी दिएका छन् ।समितिमा मध्यपश्चिमाञ्चल क्षेत्रका चार हजार एक सय पूर्वसुरक्षाकर्मी संगठित भएको संघर्ष समितिका संयोजक रोशन सुनारले बताए । समितिमा करिब एक सय सेना र अन्य सशस्त्र तथा जनपद प्रहरीका भगौडा सुरक्षाकर्मी रहेका छन । स्रोतका अनुसार, सेवा छाडेर विभिन्न मुलुक रोजगारीमा गएका पूर्वसुरक्षाकर्मीलाई पनि पुनर्बहालीको विश्वास दिलाउँदै स्वदेश फिर्ता बोलाइँदै गरिएको छ । उनीहरूलाई एक तह बढुवा र सम्पूर्ण पारिश्रमिक पाइने आश्वासनमा स्वदेश बोलाइएको हो ।आन्दोलनको नेतृत्व गरिरहेका माओवादी कार्यकर्ता सुनारले सरकारले विस्थापित सुरक्षाकर्मीलाई पुनर्बहाली नगरेर 'बम र बारुदसँग खेलेको शक्तिलाई आगोमा फ्याँक्ने काम गरेको' भन्दै राज्यसत्तालाई खरानी पारेर भए पनि आफ्नो अधिकार लिएरै छाड्ने चेतावनी दिए । सुनार माओवादी कार्यकर्ता हुन् । नेपालगन्ज नगरका विभिन्न ठाउँमा प्रदर्शनपछि धम्बोझी चोकमा आधा घन्टा आवागमन ठप्प पारी गरिएको विरोधसभामा पूर्वप्रहरी नायब निरीक्षक सेवकधर केसी, प्रहरी सहायक निरीक्षक हीरेन्द्र खड्का, राजकिशोर महतरालगायतले शान्तिपूर्ण आन्दोलनबाट सुनुवाइ नभए सशस्त्र आन्दोलन गर्न बाध्य हुने बताए ।उनीहरूले सरकारको कडा शब्दमा आलोचना गर्दै माओवादीका कारण आफ्ना परिवारको बिचल्ली भएको र कतिपय पूर्वप्रहरीका परिवार यौनपेसामा समेत लाग्न बाध्य भएको बताए ।

No comments: