News

Dec 5, 2008

मेची-कोसी बन्दले जनजीवन प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
यातायात मजदुरले शुक्रबारदेखि गरेको अनिश्चितकालीन कोसी-मेची यातायात बन्दका कारण पूर्वको जनजीवन अस्तव्यस्त भएको छ । कोसीकटानले राजमार्ग अवरुद्ध भएपछि सुनसरीको विभिन्न क्षेत्रमा स्थानीय बासिन्दाले अनधिकृत रूपमा कर अुसली गर्नुका साथै यातायात व्यवसायी तथा मजदुरमाथि आक्रमण गर्ने क्रम बढेको जनाउँदै उनीहरूले बन्द आह्वान गरेका हुन् ।इटहरीबाट यात्री लिएर गएपछि प्रतिबस चार हजार पाँच सय रुपैयाँसम्म स्थानीय व्यक्तिले 'दादा भत्ता' का नाममा असुल गरेको र नदिएमा मजदुरमाथि आक्रमण गर्ने क्रम बढेको उनीहरूको भनाइ छ । यस विषयमा जिल्ला प्रशासनमा पटकपटक जानकारी गराउँदा पनि बेवास्ता गरेकाले आन्दोलनमा उत्रनुपरेको संघर्ष समितिका अध्यक्ष गौरी लामाले बताए ।जथाभावी रूपमा खुलेका बुकिङ काउन्टरका व्यक्तिहरूले यात्रुहरूसँग तोकिएको भाडा दरभन्दा दोब्बर भाडा असुल्ने गर्दा पनि प्रहरी प्रशासन मुकदर्शक भएर बसेको उनको आरोप छ । उनीहरूले आनधिकृत कर असुली तत्काल बन्द गर्नुपर्ने, यात्रुलाई दुःख दिने काम बन्द गर्नुपर्ने, यातायात मजदुरको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, नाउमा यात्रा गर्नेको बिमा गर्नुपर्ने, कोसी कटानका कारण अवरुद्ध भएको यातायात तत्काल निर्माण गरी सुचारु गर्नुपर्नेलगायत माग राखेका छन् । बन्दका कारण सयौं यात्री बीचसडकमै अलपत्र परेका छन् । संघर्ष समितिका सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोसीका उपाध्यक्ष भक्त लामाले प्रशासनले माग पूरा नगरेसम्ममा बन्द जारी रहने बताए । उनले सुनसरीका प्रहरी प्रमुखले वार्ताका लागि आह्वान गरेको, तर आफूहरूले भने नागरिक समाज र राजनीतिक दल सबैसँगै बसेर मात्र वार्ता गर्न सकिने प्रस्ताव राखेको बताए । सुनसरीका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीले केही समयअगाडि कोसी कटान क्षेत्रमा स्थानीय केही व्यक्तिहरूले अनावश्यक रकम असुली गरे पनि हाल सो कार्य रोकिएको दाबी गरे । उनले सो कार्य नियन्त्रणका लागि आफ्नो आदेशमा प्रहरी पनि परिचालन भइसकेको जनाएका छन् ।

No comments: