News

Dec 5, 2008

सभासदको मोटरसाइकल रोक्दा १० घन्टा सडक अवरुद्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सभासद् चढेको मोटरसाइकल प्रहरीले रोकेको निहुँमा मधेसी फोरमका कार्यकर्ताले शुक्रबार १० घन्टा नेपालगन्ज-रूपैडिहा सडक अवरुद्ध गरेका छन् । उनीहरूले सभासद्माथि प्रहरीले 'दुव्र्यवहार' गरेको आरोप लगाएका छन् । फोरमका सभासद् इस्तियाक राई मोटरसाइकलमा तीनजना खप्टिएर चढेको अवस्थामा प्रहरीले चेक गर्ने क्रममा रोकेको थियो । बिहीबार राति १० बजेतिर कार्यकर्तालाई भेटघाट गरी घर र्फकने क्रममा उनी भारतीय नम्बर प्लेटको एउटा मोटरसाइकलमा चढेका थिए । सभासद्लाई प्रहरीले चेकजाँच गर्ने क्रममा मोटरसाइकलबाट झारेर सोधपुछ गरेको बाँकेका प्रहरी उपरीक्षक मीनमाङ लामाले जानकारी दिए ।उक्त मोटरसाइकलमा सभासद् रहेको थाहा पाउनासाथ छोडिएको उनले बताए । उता सभासद् राईले भने आफ्नै निर्वाचन क्षेत्रमा कार्यकर्तासँगै रहेका वेला आफूमाथि प्रहरीले दुव्र्यवहार भएको भन्दै आक्रोश व्यक्त गरे ।सभासद् राईले आफू आउँदै गरेको भन्नेबारेमा कुनै जानकारी नगराएको र समयमै आफ्नो परिचय नदिएकाले समस्या आएको प्रहरीले बताएको छ ।'सभासद्जस्तो मान्छे राति १० बजे भारतीय नम्बर-प्लेटको एउटै मोटरसाइकलमा तीनजना चढेर आउलान् भनेर अनुमान गरिएन,' एक प्रहरी अधिकृतले बताए । सभासद् राईले कार्यकर्तालाई घटनाको विरोध गर्दै बाटो अवरुद्ध गर्न लगाएका थिए । तर, आफूले बाटो अवरुद्ध गर्न नलगाएको सभासद् राईले दाबी गरे । उनले भने, 'मैले किन बाटो अवरुद्ध गर्ने ? म त सदनमा गृहमन्त्रीसँग कुरा राख्छु । कार्यकर्ताले मलाई दुव्र्यवहार गरेकोमा विरोध गरेका होलान् ।' राईले मूल भन्सारमा सादा पोसाकमा रहेका प्रहरीले मदिरा सेवन गरेको आरोप समेत लगाए । उनले भने, 'हामी कार्यकर्तालाई भेटेर फकिंदै थियौं । एउटा प्रहरीले सलाम ठोक्यो, अर्काे प्रहरीले रक्सी खाएको रहेछ, म चढेको मोटरसाइकलको चाबी नै खोस्यो । मैले एसपीलाई फोन गरेँ । भोलि बिहान कुरा गरौंला भने । त्यत्तिकैमा सयौं कार्यकर्ता आएर मलाई दुव्र्यवहार गरेकोमा प्रदर्शन गरे ।' उनले प्रहरीले गल्ती गरेको दाबी गर्दै गल्तीको 'रियलाइज' गर्नुपर्ने पनि बताए ।यसैबीच, सभासद् राईलाई 'दुव्र्यवहार' गर्ने प्रहरीलाई कारबाही गर्ने प्रशासनले विश्वास दिलाएपछि फोरमका कार्यकर्ताले सडक खुला गरेका छन् । फोरम कार्यकर्ताले बिहान ६ बजेदेखि बेलुका ३ बजेसम्म सडक अवरुद्ध पारेका थिए । भारतको मुम्बईमा आतंककारी हमला भएपछि सीमा-क्षेत्रमा प्रहरीले चेकजाँचलाई कडा गरेको छ ।

No comments: