News

Dec 13, 2008

वीर अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वीर अस्पतालले पहिलोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ । अस्पतालले शुक्रबार दुई बिरामीमा मिर्गोला प्रत्यारोपण गरेको हो । प्रत्यारोपण गरिएका बिरामीको स्वास्थ्य राम्रो रहेको अस्पतालले जनाएको छ । अस्पताल स्रोतका अनुसार प्रत्यारोपणका लागि 'अल इन्डिया मेडिकल इन्स्टिच्युटबाट विशेषज्ञ चिकित्सकको टोली झिकाइएको थियो । वीर अस्पताल नेफ्रोलोजी विभागले सफल प्रत्यारोपण भएको पुष्टि गरेको छ । प्रत्यारोपण गरेका बिरामीलाई कम्तीमा सात दिन चिकित्सकको विशेष निगरानीमा राख्नुपर्ने हुँदा सबै सूचना दिन नमिल्ने अस्पतालले जनाएको छ । प्रत्यारोपणका लागि वीर अस्पतालले दसैंअघि नै बेलायतमा अध्ययन सकेर काम गर्दै गरेका डा. पुकार श्रेष्ठलाई बोलाएको थियो । अल इन्डिया मेडिकल इन्स्टिच्युटका चिकित्सकको नेतृत्वमा डा. श्रेष्ठलगायत वीर अस्पतालका वरिष्ठ शल्यचिकित्सकले मिर्गौला प्रत्यारोपण गरेको अस्पताल स्रोतले जनाएको छ । वीर अस्पतालमा यसअघि मिर्गौला प्रत्यारोपणको प्रयास असफल भएको थियो । सरकारले अंग प्रत्यारोपण ऐन ०५५ र नियमावली ०५८ मा ल्याएको भए पनि विभिन्न कानुनी जटिलताका कारण प्रत्यारोपण हुन सकेको थिएन । कानुनी जटिलता फुकाएर विदेशी चिकित्सक पनि अंग प्रत्यारोपणमा सहभागी हुन सक्ने व्यवस्था गरेपछि शिक्षण अस्पतालले गत साउनमा पहिलोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको थियो ।

No comments: