News

Dec 7, 2008

रिटायर्ड जीवनको तयारीमा बुस

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जर्ज डब्लु बुस र उनकी श्रीमती लाउरा बुसले टेक्सासको डलासमा चार बेड रुमसहितको घर किनेका छन् । आफ्नो राष्ट्रपतीय कार्यकाल सकिएपछि बस्नका लागि उनीहरूले यो घर किनेका हुन् । बुसदम्पतीले डलासको पि्रस्टन होलो एरियामा घर किनेको लाउरा बुसका प्रेस सेक्रेटरी स्याली म्याडोनोगले बताएकी छिन् । म्याडोनोगले बुसको नयाँ घरबारे अन्य विवरण दिएकी छैनन् । बुस-दम्पत्तीले नयाँ घरमा बसे पनि टेक्सासको क्रफोर्डमा अवस्थित र्‍यान्च नियमित रूपमा जाने म्याडोनोगले बताइन् । 'राष्ट्रपति र उनकी श्रीमतीले डलासको पि्रस्टनको होलोमा घर किनेका छन् । राष्ट्रपति बुसको कार्यकाल २००९ जनवरीमा सकिएपछि उनीहरू त्यहाँ बस्न सुरु गर्छन्,' विज्ञप्तिमा उनले भनिन् । राष्ट्रपति बुसका छिमेकी हुने हल्ला पि्रस्टन होलोमा फैलिएको छ । पत्रकार तथा फोटोग्राफरहरू बुसको नयाँ घरअगाडि जम्मा भएका छन् । बुसदम्पतीको लामो समयका साथीमार्फत घर किनेको बताइएको छ । घर २१ लाख डलरमा किनिएको हो । घर ८,५०० इस्क्वायर फिटमा बनेको छ । बुस नयाँ घरमा सरेपछि उनका छिमेकी टेक्सासका रेन्जर्स मालिक टम हिक्स, करोडपति टी बोनी पिकन्स र रिपब्लिकन पार्टीलाई आर्थिक सहयोग गर्ने ह्यारोल्ड स्यामोन्स हुनेछन् । लाउरा बुसले बिहीबार नयाँ घरबारे केही बताएकी छिन् । 'हामीले घर रोजेका छौँ । तर, हामीले यसको भोगअधिकार हामीमा छैन । यसको अधिकार हामीमा आउनेबित्तिकै हामी घर कहाँ छ भन्ने घोषणा गर्छौँ । यही प्रयासमा हामी छौँ,' उनले भनिन् । बुस-परिवार डिसेम्बर १९८८ र जनवरी १९९५ बीच डलासमा बसेका थिए । जर्ज डब्लु बुस टेक्सासको गर्भनर भएपछि बुस-परिवार अस्टिन सरेको थियो । जर्ज डब्लु बुस अमेरिकी राष्ट्रपतिमा आठ वर्षअगाडि निर्वाचित भएपछि बुस-परिवार ह्वाइट हाउसमा बस्दै आएको छ ।

No comments: