News

Dec 7, 2008

थरूहटले आफ्ना सेना सडकमा उतारेर मार्चपास

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
थरूहट संयुक्त संघर्ष समिति केन्द्रीय संयोजन समिति काठमाडौंले शनिबार सुनसरीमा आफ्ना सेना सडकमा उतारेर मार्चपास गरेको छ । थरूहरूको अस्तित्व संरक्षण गर्न र थरूहट स्वायत्त गणराज्य स्थापना गर्न तालिमप्राप्त सेनाको मार्चपास गराएको समितिले जनाएको छ ।'थरूहट रक्षक फोर्स' नाम दिइएको करिब पाँच सय सेनाले दुहबीस्थित सरस्वती उच्चमावि मैदानमा मार्च पास गरेका थिए । सुनसरी, मोरङ र झापामा क्रियाशील सेना पोसाकमा देखिएका थिए ।उनीहरूले विशेष सैन्य तालिमप्राप्त गरेको थरूहट संयुक्त संघर्ष समितिका केन्द्रीय अध्यक्ष उपेन्द्र गच्छदारले बताएका छन् । उनले हाल सुनसरी, मोरङ र झापाका विशेष सैन्य तालिम लिएका थरूहटका २० हजार सेना रहेको र सबैसँग आधुनिक हतियार भएको दाबी गरेका छन् । मार्चपासमा भने हतियारविना नै सेनालाई सहभागी गराइएको थियो ।तराईमा २० लाख थारू रहेको र केही महिनामै एक लाख सेना बनाउने लक्ष्य रहेको उनले बताए । तराईमा थारू बाहुल्य रहे पनि गलत राजनीति गर्नेहरूले तराईलाई मागिखाने भाँडो बनाएको उनले आरोप लगाएका छन् । मधेसको नाममा उपेन्द्र यादवले र थारूको नाममा विजय गच्छदारले गलत राजनीति गरेको उनको आरोप छ । अहिलेको गणतान्त्रिक सरकार पनि मधेसको नाममा भूमिपुत्रमा रहेका थारूहरूको अस्तित्व संकटमा पार्न उद्यत् रहेकाले चेतावनीस्वरूप लामो समयपछि थरूहट रक्षक फोर्सको निर्माण गरी प्रदर्शन गरेको उनले बताएका छन् ।सेनाको मार्चपासपछि सम्पन्न आमसभामा राष्ट्रिय आदिवासी जनजाति गणतान्त्रिक मोर्चाका केन्द्रीय अध्यक्ष कमल छाराहाङ, सहअध्यक्ष किशोरकुमार विश्वास, थरूहट स्वायत्त राज्यपरिषद्का केन्द्रीय अध्यक्ष लक्ष्मण थारू, संघीय लिम्बूवान राज्यपरिषद्का अध्यक्ष सञ्जुहाङ पालुङवा, थारू विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष शैलेन्द्र चौधरीले सम्बोधन गरेका थिए । उनीहरूले थरूहट राज्यका लागि सुरुमा शान्तिपूर्ण आन्दोलन गर्ने र शान्तिपूर्ण आन्दोलन गर्दा पनि राज्यले आफूहरूको मागप्रति बेवास्था गरे सेनालाई युद्धको मैदानमा उतार्ने चेतावनीसमेत दिएका छन् ।

No comments: