News

Jan 20, 2009

मामाको छोराले भारतको मुम्बई बेच्न लैजान खोजे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

आफ्नै मामाको छोराले नक्कली श्रीमती बनाएर भारतको मुम्बई बेच्न लैजान खोजेको नुवाकोट घ्याङफेदीकी रीता तामाङ (१६) ले त्यतिवेला थाहा पाइन् जतिवेला उनलाई बेच्न खोज्ने दुईजना प्रहरी फन्दामा परे । 'मलाई त केही थाहा भएन, मोराहरूले मलाई काठमाडौं जाने भनेर तीन दिन ओडारमा लुकाएर राखे,' जिल्ला प्रहरी कार्यालय नुवाकोट परिसरमा भेटिएकी रीताले भनिन्, 'हीरा (१६) लाई पनि उनीहरूले मसँगै बेच्न लागेका रहेछन् ।'घ्याङफेदी-८ का दीपक तामाङ र मीनबहादुर तामाङले आफ्नै गाउँकी रीता (नाम परिवर्तन) र शिखरबेसी-४ की हीरालाई नक्कली श्रीमती र बहिनी बनाएर भारतको मुम्बई पुर्‍याउन लागेका हुन् । उनीहरूले २७ देखि २९ पुस रातिसम्म दुर्गम घ्याङफेदीको एउटा ओडारमा रीता र हीरालाई तीन दिनसम्म लुकाएर भारतको मुम्बई लैजाने योजना बनाएका रहेछन् । त्यतिमात्र होइन, दलालद्वय दीपक र मीनबहादुरले दुई युवतीलाई भारत लैजान सहज होस् भनेर चार वर्षीय एक बालकलाई नक्कली पुत्रसमेत बनाए । दुई युवतीसहित नक्कली छोरा बनेको चार वर्षीय सनी लिएर उनीहरू १ माघ मध्यरातमा घ्याङफेदी गाविसको ओडारबाट हिँडेका थिए । 'कसैले बाटामा कहाँ जान लागेको भन्यो भने काठमाडौं भन्नू भनेर सिकाइएको थियो,' रीताले भनिन्, 'जंगल र खोलाको बाटो रातभर हिँडेर हामी बिहान समुद्रटार बजारमा आइपुग्यौं ।' बाटोमा पर्ने खरानीटार गाविसमा रहेको इलाका प्रहरी कार्यालयमा समेत दलालहरूले सिकाएबमोजिम ती युवतीले दीपकलाई श्रीमान्, मीनबहादुरलाई देवर र चार वर्षीय सनीलाई छोरा भन्थे । तर, नियत नै खराब भएका यी दुई युवकहरू गँगटे आइपुग्दा-नपुग्दै भने प्रहरी फन्दामा परे । 'प्रहरीले लाठी हानेपछि केटाहरूले हामीलाई बेच्न लागेको बताए,' रीताले भनिन्, 'त्यतिवेला बल्ल हामीलाई बेचिन लागेको थाहा भयो । अघिसम्म त उनीहरूले हामीलाई काठमाडौं काम गर्न लैजाने भनेका थिए ।'जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक दिलीपकुमार गिरीले भने, 'दीपक र मीनबहादुरले रीता र हीरालाई बेच्न लगेको स्वीकार गरिसकेका छन् ।' उनीहरूले रीता र हीरालाई मुम्बई पुर्‍याउन तीन महिनादेखि गाउँमा ठूलै लगानी गरेको थाहा हुन आएको छ । दीपक र मीनबहादुर अहिले जिल्ला प्रहरी कार्यालय नुवाकोटको हिरासतमा रहेका छन् भने रीता र हीरालाई प्रहरीले घर पठाइदिएको छ ।
समाचारमा उल्लेखित पीडितका नामहरू परिवर्तन गरिएका हुन्

No comments: