News

Jan 19, 2009

प्रधानमन्त्रीको भाषण प्रति अन्य दलका सभासद्हरूले आपत्ति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी अध्यक्ष रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार गिराएमा सत्ता कब्जा गर्ने भनी व्यक्त गर्नुभएको विचारप्रति अन्य दलका सभासद्हरूले आपत्ति गरेका छन्। व्यवस्थापिका संसद्को आइतबारको बैठकमा बोल्ने सभासद्हरूले प्रधानमन्त्रीले पदीय जिम्मेवारी भन्दाविपरीत अभिव्यक्ति दिएको भनी आपत्ति गरे। नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले हत्याहिंसाको अन्त्य गरी देशमा दिगो शान्ति स्थापना गर्नुपर्ने प्रधानमन्त्री नै हिंसालाई बढावा दिने भाषण गर्न लागेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले खुलामञ्चमा उभिएर दिएको अभिव्यक्तिले लोकतान्त्रिक आन्दोलनलाई ठाडो चुनौती दिएको बताउंदै पौडेलले भन्नुभयो- तपाईं प्रधानमन्त्री भएर लोकतन्त्रको हत्या गर्ने अभिव्यक्ति र कार्य बन्द गर्नुहोस्।’तपाईं सक्नुहुन्छ भने संसद्मा बहुमत पुर्याएर सरकार चलाउनुहोस् तर जनताको विश्वास र बहुमतको आधारमा सरकार चलाउन सक्नुहुन्न भने सत्ता कब्जा गर्ने धम्की नदिनुहोस्’ -पौडेलले भन्नुभयो।उहाँले माओवादीले लोकतन्त्र र कानुनी शासनका कुरा गरे पनि कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको हत्यामा संलग्न कालीबहादुर खाममगर विविधलाई केन्द्रीय सदस्य बनाएर कानुनी शासनको उपहास गरेको बताउनुभयो।एमाले सभासद् कुलप्रसाद नेपालले नेपाल शान्तिपूर्ण आन्दोलनको कारण नै गणतन्त्रसम्म पुग्न सकेको चर्चा गर्दै माओवादीको बन्दुकका भरमा गणतन्त्र आएको होइन भन्नुभयो। उहाँले अवसर पाएर पनि माओवादीले सत्ता सञ्चालन गर्न नसकेको टिप्पणी गर्नुभयो।राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले माओवादीले विगतमा दिएका आश्वासन पूरा गर्न असफल हुँदै गएपछि अब धम्कीको भाषा बोल्न थालेको आरोप लगाउनुभयो।व्यवस्थापिका-संसद्मा दर्ता भएको संकल्प प्रस्तावको बारेमा जवाफ दिने समयमा सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले भने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिको बचाउ गर्नुभएको थियो। उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिलाई शंकाको घेरामा नराख्न आग्रह गर्दै शान्तिप्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउनु सबैको कर्तव्य भएको बताउनुभयो।

No comments: