News

Jan 20, 2009

सहुलियत माग्ने विद्यार्थीको टाउको फुटाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सार्वजनिक सवारीसाधनमा सहुलियत माग्दा सिन्धुपाल्चोकमा एक विद्यार्थीको टाउको फुटेको छ । माइक्रोबसका कन्डक्टरले फलामे लिभरले हिर्काएर सहुलियत माग्ने विद्यार्थीको टाउको फुटाएका हुन् । अरनिको यातायात सेवा समितिद्वारा काठमाडौं-चौतारा रुटमा सञ्चालित बा.१ज९५७६ नम्बरको माइक्रोबसका कन्डक्टर कामी शेर्पाले चौतारा-८ का हरि श्रेष्ठको टाउको फुटाएका हुन् । पीडितका अनुसार विद्यार्थी सहुलियत मागेपछि कन्डक्टर शेर्पाले माइक्रोबसमै राखिएको फलामे लिभर झिकेर टाउकोमा हानेका थिए ।फुटेको टाउकोमा पाँच टाँका लगाएर न्याय माग्दै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पुगेका हरिले विद्यार्थी सहुलियत माग्दा कन्डक्टरले नै विवाद झिकेर लिभरले हिर्काएको बताए । काठमाडौं जान लागेका आफ्ना साथी मदन कार्कीसँगै उनी आइतबार चौतारास्थित माइक्रो पार्कमा पुगेका थिए । अमृत साइन्स क्याम्पसमा स्नातक तह पहिलो वर्षमा अध्ययनरत मदनले सहुलियत माग गर्दै विद्यार्थी परिचयपत्र देखाएपछि विवाद सुरु भएको हो । कन्डक्टरले तीनजनालाई मात्र सहुलियत दिने गरेको र सहुलियतको सिट बिक्री भइसकेको बताएपछि विवाद सुरु भएको थियो । बिक्री भइसकेको टिकट देखाउन अडान लिएपछि हरि कुटिएका हुन् । 'बिक्री भइसकेको टिकट देखाए पूरै पैसा तिरौँला भनेर कन्डक्टरसित आग्रह गरेँ,' उनले भने, 'तर उल्टै उनले गाडीभित्रको लिभर झिकेर टाउकोमा प्रहार गरे ।' विद्यार्थीद्वयले सहुलियत नदिने उद्देश्यले सिट बिक्री भइसकेको वाहाना बनाइएको बताए । यसअघि परिचयपत्रका आधारमा आफूहरूले सहुलियत पाउँदै आएको उनीहरूको भनाइ छ । घटनापछि दोलखा घर भएका कन्डक्टर कामी फरार छन् । घटनापछि आक्रोशित विद्यार्थी तथा स्थानीय युवाले माइक्रोबसमा क्षति पुर्‍याएका छन् । माइक्रोबसको अग्रभागको सिसा फुटाइएको छ । थप क्षति हुन नदिन प्रहरीले माइक्रोबस नियन्त्रणमा राखेको छ । दोषीलाई कारबाही माग गर्दै विद्यार्थी तथा स्थानीय युवाले केही समय जिल्ला प्रहरी कार्यालय घेराउसमेत गरे । प्रहरी प्रमुख डिएसपी प्रमोदकुमार खरेलले कन्डक्टरलाई जसरी पनि कारबाही गर्ने बताएपछि उनीहरू फर्केका छन् ।अरनिको यातायातले आफूले सञ्चालन गर्ने सबैखाले बसले विद्यार्थीलाई ३३ प्रतिशत सहुलियत दिँदै आएको जनाएको छ । 'विद्यार्थीलाई तोकिएको सहुलियत दिँदै आएका छौँ, यतिउतिलाई भनेर तोकिएको छैन' चौतारा टिकट काउन्टरका कर्मचारी टंक श्रेष्ठले भने, 'परिचयपत्र देखाउने विद्यार्थीलाई विनाविवाद सहुलियत दिनुपर्छ ।' उनले सहुलियत माग्दा कन्डक्टरले विद्यार्थीको टाउको फुटाएको घटना निन्दनीय भएको टिप्पणी गरे ।

No comments: