News

Jan 18, 2009

सभासद् बबन सिंहलाई प्रहरीले पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सहिदहरूमा समर्पित यज्ञहोम कार्यक्रममा अतिथि बनेर वीरगन्ज पुगेका 'विवादास्पद' छविका सभासद् बबन सिंहलाई शनिबार प्रहरीले पक्राउ गर्दा उनको अनुहारमा कुनै भय देखिएन । कार्यक्रम सकिएलगत्तै उद्योग वाणिज्य महासंघ नजिकै उनले आफू सुरक्षाकर्मीको नियन्त्रणमा परेको थाहा पाए । र, भ्यानमा बसेर उनी जिल्ला प्रहरी कार्यालय पुगे । वीरगन्जका व्यापारी राजेश क्यालको हत्यामा सभासद् सिंहको संलग्नता रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । वीरगन्जमा सामान्य व्यापार गर्दै आएका क्यालको गत ६ पुसमा उनकै निवासमा मोटरसाइकल चढेर आएका बन्धुकधारीले गोली हानी हत्या गरेका थिए ।हत्यामा संलग्न 'सुटर' विवेक सिंहलाई प्रहरीले करिब दुई हप्ताअघि नै पक्राउ गरेको थियो । उनकै बयानका आधारमा सभासद् सिंहलाई पक्राउ गरिएको प्रहरी उच्चस्रोतले जनाएको छ । स्रोतका अनुसार सभासद् सिंहकै निर्देशनमा आफूले व्यापारी क्यालको हत्या गरेको बयान विवेकले प्रहरीसमक्ष दिएका थिए । विवेकले वीरगन्जकै अर्का व्यापारीको हत्या पनि सभासद् सिंहकै निर्देशनमा आफूले नै गरेको बयान प्रहरीलाई दिएका छन् ।जिल्लास्थित कुनै पनि प्रहरी अधिकृत शनिबार रातिसम्म पत्रकारहरूको सम्पर्कमा आउन चाहेका छैनन् भने जिल्ला प्रहरी कार्यालयभित्र पनि पत्रकारलाई पस्न दिइएको छैन । वीरगन्जका प्रमुख जिल्ला अधिकारी शंकरप्रसाद कोइरालाले सभासद् सिंहलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको बताए । संविधानसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर-१ बाट स्वतन्त्र उम्मेदवारी दिएर सिंहले चुनाव जितेका थिए । आफूलाई भोट नदिए आत्महत्या गर्ने धम्कीसहित चुनावमा उत्रेका सिंहमाथि त्यसवेला नै हत्या र बलात्कारजस्ता विभिन्न अपराधको आरोप लागेको थियो । उनीमाथि काठमाडौंमा भएको शृंखलाबद्ध बम विस्फोटमा संलग्न रहेको अभियोग पनि लागेको थियो । तर, पछि प्रहरीले यो आरोप फिर्ता लियो । गौरमा एक बालिकाको अपहरणपछि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिंहलाई त्यतिखेर स्थानीय जिल्ला अदालतले धरौटीमा रिहा गरेको थियो । प्रहरीले खोजी गरिरहेकै कारण उनले वारेसनामामार्फत संविधानसभा सदस्यको उम्मेदवारी दिएका थिए । चुनाव प्रचारका लागि सिंहले निकालेको पोस्टर पनि त्यतिखेर चर्चाको विषय बनेको थियो । उनको घाँटीमा पासो लगाइएको चुनावी पोस्टरमा लेखिएको थियो, 'हमारी बचाइलो' । प्रहरीबाट जोगिन उनले राति-राति मात्रै चुनाव प्रचार गरेका थिए । चुनाव जितेपछि १४ जेठमा उनी एकैपटक काठमाडौंको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गरिएको सभासद्हरूको शपथग्रहण समारोहमा सार्वजनिक भएका थिए । सभासद् भइसकेपछि प्रहरीले उनलाई पक्राउ गर्ने 'आँट' गरेको थिएन । संविधानसभा र व्यवस्थापिका संसद्को बैठकमा भाग लिन जाँदासमेत उनी एकजना 'बडिगार्ड' लिएर जाने गरेका थिए ।संविधानसभा सचिवालयले निकाल्ने तयारी गरिरहेको सभासद्हरूको पूर्ण विवरणसहितको पुस्तिकाका लागि उनले भरेको फारममा विगतको पेसामा 'समाजसेवा' भनेर उल्लेख गरेका छन् ।पछिल्लोपटक गत २९ पुसमा भएको संविधानसभा, संवैधानिक समितिको बैठकमा सभासद् सिंहले 'चुनावमा दुई/दुई क्षेत्रबाट जनताले तिरस्कार गरेको व्यक्तिलाई समितिको सभापति बनाउनु हुँदैन' भन्दै एमालेका पूर्वमहासचिव तथा सभासद् माधवकुमार नेपालका बारेमा कडा प्रतिक्रिया दिएका थिए ।अन्तरिम संविधानमा व्यवस्थापिका संसद्को अधिवेशन जारी रहेको वेला वा संविधानसभाको कार्यकालभर कुनै पनि सभासद्लाई फौजदारी अभियोगमा कानुनअनुसार पक्राउ गरिएमा तुरुन्त अध्यक्षलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ । 'व्यवस्थापिका संसद्को कुनै पनि सदस्यलाई व्यवस्थापिका संसद्को अधिवेशन अवधिभर पक्राउ गरिने छैन । तर, कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई कानुनअनुसार पक्राउ गर्न यस उपधाराले बाधा पुर्‍याउने छैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना व्यवस्थापिका संसद्को अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्नेछ,' अन्तरिम संविधानको धारा ५६ को उपधारा ५ मा उल्लेख गरिएको छ । तर, सभासद् सिंहलाई पक्राउ गरिएको सम्बन्धमा राति अबेरसम्म संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले कुनै जानकारी गराएको छैन । 'मलाई अझै जानकारी आइसकेको छैन,' अध्यक्ष नेम्वाङले राति नयाँ पत्रिकासित भने ।

No comments: