News

Jan 18, 2009

ब्याडमिन्टन खेलाडी समीता राईलाई गर्भवती बनाएर फरार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भोजपुर जिल्ला प्रहरी कार्यालयका सई संपतलाल चौधरीले ब्याडमिन्टन खेलाडी समीता राईलाई गर्भवती बनाएर फरार भएका छन् । विराटनगर-१ पोखरिया घर भएका सई संपतलाल भागेपछि भोजपुर छिनामकु-९ की समीता अहिले आठ महिनाको गर्भ बोकेर श्रीमान्को खोजीमा भौंतारिइरहेकी छिन् ।मेरो नाम समीता राई, घर भोजपुर छिनामुकु- ९ । १२ भदौ ०६२ मा भोजपुरबाट ब्याडमिन्टन खेल्न धनगढी पुगेकी थिएँ । सोही क्रममा संपतलाल चौधरीसँग भेट भयो । उनी पनि खेलाडी रहेछन् । सामान्य भेटघाट हुँदाहुँदै बिस्तारै हाम्रो मित्रता प्रगाढ बन्दै गयो । नेपालभरि हुने विभिन्न खेलमा हाम्रो भेट भइरहन्थ्यो । इलाम, काठमाडौं, धनगढी, धनकुटालगायत ठाउँमा भएका ब्याडमिन्टन प्रतियोगितामा पटकपटक भेट भइरह्यो । ०६३ सालदेखि हाम्रो सम्बन्ध मित्रतामा मात्र सीमित नभई प्रेमी-प्रेमिकामा विस्तार भयो । भोजपुर सदरमुकाम बसेर मैले खेलसँगसँगै पढाइ पनि अघि बढाइरहेकी थिएँ । ०६४ फागुनमा दुवैको सहमतिमा हाम्रो बिहे भयो । सोही वर्षको चैतमा मेरो एसएलसी परीक्षा थियो । परीक्षा दिने वेला पनि उनी मलाई हौसला दिने गर्थे । परीक्षाको नतिजा आयो, म नेपाली विषयमा अनुत्तीर्ण भएछु । त्यो विषयको परीक्षाको तयारी गर्दै थिएँ, उनले मलाई एक्कासि 'अब पढ्नुपर्दैन' भने । मैले पढ्छु भन्दा पनि दिएनन् । उनकै जिद्दीले परीक्षा पनि दिइनँ । पछि मैले थाहा पाएँ, उनको पहिले नै विवाह भइसकेको रहेछ । क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा कार्यरत असई उर्मिला चौधरी उनकी श्रीमती रहिछन् र उनका १७ वर्ष र १२ वर्षका दुई छोरासमेत रहेछन् । अर्की श्रीमती भएको थाहा पाएपछि मेरा नातेदारले उनीसँग मलाई छुटाउने प्रयाससमेत गरेका थिए । तर, उनैले 'तिमी मलाई छोड्छौ भने म तिम्रो कारणले आत्महत्या गर्न बाध्य भएको भनेर पत्र लेखी विष खाएर मर्छु' भने । उनले मलाई 'म तिमीसँगै जीवन बिताउँछु, मेरो नाममा रहेको सम्पत्ति तिम्रै नाममा गरिदिन्छु । मेरो दुलारी र खनारको जमिन पनि तिम्रै नाममा गरिदिन्छु । अर्कीसँग अंशबन्डा गर्छु,, पेन्सन पनि तिम्रै नाममा गरिदिन्छु' भनेर प्रलोभन देखाए ।त्यतिवेलासम्म जेठी श्रीमती उर्मिलालाई पनि संपतलालले मसँग विवाह गरेको थाहा रहेनछ । जेठी श्रीमतीले थाहा नपाउन्जेलसम्म त मलाई सरसहयोग गरिरहेका थिए । तर, जेठीले थाहा पाएपछि भने त्यति हेरविचार गर्न छाडे । तैपनि मलाई भोजपुरबाट ०६४ वैशाखमा लेटाङ ल्याएर राखे । लेटाङमा दिदी घरमा चार महिना बसेपछि धरानमा डेरा लिएर राखे । म धरान बस्दा उनी कहिलेकाहीँ मात्र आउन थाले । जब मलाई श्रीमान् भेटघाट गर्न नै छाडे त्यसपछि मलाई लाग्यो, अब मलाई यिनले छोड्ने भए । अब मलाई उनको घरमा भित्रिनुको विकल्प थिएन । त्यसपछि धरानबाट विराटनगर आएँ । विराटनगर घरमा आउँदा जेठी उर्मिलाले छिर्न दिइनन् । शनिबार दोस्रोपटक घर भित्रिने प्रयासमा आएकी हुँ । तर, उर्मिलाले आज पनि छिर्न दिइनन् । उनले छिर्न नदिएपछि केही महिलाले मेरो सहयोग गरेका थिए । तर, प्रहरीले मलाई त्यहाँबाट उठाएर ल्यायो । मेरो अहिले आठ महिनाको गर्भ छ । अब म जसरी भए पनि श्रीमान्कै घरमा बस्न चाहन्छु । अहिले उनी कहाँ छन्, थाहा छैन । जेठी श्रीमतीका अनुसार भारतको जोगवनीमा छन् रे । मैले भोजपुर जिल्ला प्रहरीमा र क्षेत्रीय प्रहरीमा समेत निवेदन दिएकी छु । क्षेत्रीय प्रहरी कार्यालयबाट उनको पेन्सनबाट आउने रकम रोक्का गरी मिलाइदिन्छु भन्ने आश्वासन पाएकी छु । पेटको बच्चा दिनदिनै बढ्दै छ, म के गरौं ।

No comments: