News

Jan 19, 2009

प्रहरी हिरासतमा रहेका बबन सिंह अस्वस्थ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
व्यापारी हत्याको अभियोगमा प्रहरी हिरासतमा रहेका सभासद् बबन सिंह अस्वस्थ भएकाले नारायणी उपक्षेत्रीय अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको छ। सभासद् सिंहलाई आइतबार जिल्ला अदालत पर्सा पेस गरिएकोमा त्यहाँबाट प्रहरी हिरासतमा ल्याउँदै गर्दा उनले छातीमा असजिलो महसुस भएको बताएका थिए। राति १०:०० बजे पीडा निकै बढेको बताएपछि अस्पताल लगी आईसीयूमा भर्ना गरिएको प्रहरी उपरीक्षक सुबोध घिमिरेले बताए। परीक्षणबाट सिंहमा उच्च रक्तचापको समस्या देखिएको जानकारी घिमिरेले दिए। त्यसअघि सभासद् सिंहलाई तीन दिन न्यायिक हिरासतमा राख्नका लागि जिल्ला अदालत पर्सा आदेश दिएको थियो।व्यापारीद्वय राजेश कयाल र जटाशंकर साहको हत्यामा संलग्न रहेको अभियोगमा शनिबार साँझ जिल्ला प्रहरी कार्यालय पर्सा सभासद् सिंहलाई एक र्सार्वजनिक कार्यक्रममा सहभागी हुन जाँदै गरेको अवस्थामा वीरगन्ज उपमहानगरपालिका-४ स्थित बिर्ताबाट पक्राउ गरेको थियो। जिल्ला अदालतका न्यायाधीश अजयराज शर्माको एकल इजलासले थप अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न जिल्ला प्रहरी कार्यालय पर्सालाई निर्देशन दिएको हो। सरकारी वकिलले सभासद् सिंहविरुद्ध अनुसन्धानका लागि सात दिन हिरासतमा राख्नका लागि अदालती आदेशको अपिल गरेका थिए। नेपाल बार एसोसिएसन पर्सा अदालती आदेश बेरीतपूर्ण भएको भन्ने ठहर गर्दै बबन सिंहको प्रतिरक्षाका लागि दुइ घण्टासम्म बहस गरेको थियो। बारका अध्यक्ष सुधीर कर्णत एघार वकिलले बबन सिंहको प्रतिरक्षाका लागि बहस गरेका थिए। जिल्ला न्यायाधीशको निर्णय खारेजीका लागि पुनरावेदन अदालत हेटौंडामा बार एसोसिएसनका तर्फबाट अपिल गरिने पर्सारले निर्णय गरेको छ। अभियुक्त सिंहले आफूलाई राजनीतिक पूवाग्रहबाट प्रेरित भएर झूटो आरोपमा फसाउन खोजेको भन्दै सञ्चारकर्मीसँग प्रतिक्रिया दिएका छन्। २०६३ साल चैत ७ गते भएको गौर नरसंहारपछि प्रहरीले खोजीको सूचीमा राखेका कारण चर्चा पाएका सभासद् सिंहलाई प्रहरीले कडा सुरक्षा घेरासहित जिल्ला प्रहरी कार्यालयबाट जिल्ला अदालतमा पुर्याएको थियो। यसैबीच, सभासद् बबन सिंहको पक्राउको विरोधमा समर्थकहरूले आइतबार वीरगन्ज बजार बन्द गराउनुका साथै दिनभर प्रदर्शन गरे। स्वतन्त्र युवा फोर्स र मधेसी टेरड युनियन महासंघका कार्यकर्ताले बिहानैदेखि जुलुस निकालेर बजार बन्द गराउँदै हिँडेका थिए। प्रदर्शनकारीलाई नियन्त्रणमा लिनका लागि दिउँसो घण्टाघरचोकमा प्रहरीले लाठीचार्ज गर्दै पाँच जनालाई नियन्त्रणमा लिएको छ। बन्द आवानकर्ताले लिंकरोडमा फोरमको महाधिवेशन प्रतिनिधि बोकेको जेएच ०५ एन ४४३३ नम्बरको भारतीय गाडीको सिसा फुटाएका थिए। यसैबीच, सरकारले सभासद् बबन सिंहलाई पक्राउ गरिएको जानकारी संसद्लाई गराएको छ।व्यवस्थापिका-संसद्को आइतबारको बैठकमा सभामुख सुवास नेम्वाङले सभासद् सिंहलाई पक्राउ गरिएको बारेमा गृह मन्त्रालयले पठाएको पत्र पढेर सुनाउनुभएको थियो। सो अवसरमा मधेसका सभासद्हरूले प्रतिशोधका आधारमा सभासद् सिंहलाई पक्राउ गरिएको आरोप लगाएका थिए। जनकपुरमा पत्रकार उमा सिंहको हत्याको बारेमा सभासद् सिंहले बोलेका कारण नै गिरफतार गरिएको सभासद् सरिता गिरीलगायतका सभासद्को दाबी थियो।

No comments: