News

May 4, 2010

माओवादी आन्दोलनकारीले सवारीसाधनमा तोडफोड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २१ - एकीकृत नेकपा (माओवादी)ले सुरु गरेको आमहडतालका क्रममा बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले आज रोकिराखिएका केही सवारीसाधनमा तोडफोड गरेका छन्। महानगरपालिका-१४ स्थित मकालु पेट्रोलपम्म अगाडि बा२ ख २९७३ नम्बरको नेपाल यातायात र बा १ ज ७०८१ नम्बरको ट्याक्सीको सिसा तोडफोड गरी क्षति पुर्‍याएको बानेश्वर प्रहरी प्रभागले जनाएको छ। ती क्षेत्रमा थप घटना हुन नदिन प्रहरीले सक्रियता बढाउनाका साथै घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ। यसैगरी कलङ्कीबाट नागढुङ्गातर्फ जाँदै गरेको बा.२ख ७००७ नम्बरको मिनिट्रकलाई मोटरसाइकलमा आएका केही अपरिचित व्यक्तिले आगजनी गरी क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।
दुईवटा मोटरसाइकलमा आएका ती व्यक्तिले महादेवस्थान-३ स्थित काठ गोदाम अगाडि मिनिट्रकलाई जबर्जस्ती रोकेर पेट्रोल छर्की आगजनी गर्दा ट्रकको अगाडिको भाग पुरै जलेर क्षति भएको जनाइएको छ।
आमहडतालको तेस्रो दिन आज पनि उपत्यकाको जनजीवन प्रभावित भएको छ।हडतालका कारण उपत्यकाभित्रका मुख्य क्षेत्रका बजार, पसल, उद्योग कलकारखाना, शिक्षणसंस्था, यातायात बन्द छन्। बिहानैदेखि उपत्यकाका मुख्य सहर नयाँबानेश्वर, कोटेश्वर, त्रिपुरेश्वर, कलङ्की, सातदोबाटो, कुपण्डोल, गोङ्गबु, चाबहिल, महाराजगन्जलगायतका क्षेत्रमा पार्टीका केन्द्रीय नेताको अगुवाइमा प्रदर्शन भइरहेको छ।
प्रदर्शनका क्रममा बन्दकर्ताले वर्तमान सरकार विघटन नभएसम्म हडताल जारी रहने, शान्ति स्थापना गर्नुपर्ने, नयाँ संविधान जारी हुनुपर्नेलगायतका नारा लगाउँदै नाचगानसमेत गरिरहेका छन्। पहिलो र दोस्रो दिनको तुलनामा आजको बन्द तनाबपूर्ण बन्दै गइरहेको छ। बन्दकर्ताले आज अनामनगरस्थित किराना पसलमा समेत तोडफोड गरेका छन्।आमहडतालका बीचमा पनि सञ्चारकर्मी, दूध र पानी बोक्ने गाडी, एम्बुलेन्स, शववाहनलगायतका सवारीसाधन निर्बाधरूपमा सञ्चालनमा रहेका छन्।

No comments: