News

May 9, 2010

माओवादी ड्राफ्टमा संविधानसभाका साना दस दलले हस्ताक्षर गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २६ - राजनीतिक गतिरोधको बाधक वर्तमान सरकार नै हो' निष्कर्ष निकालेको माओवादी ड्राफ्टमा संविधानसभाका साना दस दलले सोमबार हस्ताक्षर गर्ने भएका छन् । शान्ति प्रक्रिया र संविधान निर्माणका लागि साझा सहमति जुटाउन भनि केही दिन अघि बोलाइएको बैठकमा माओवादीले सरकार बाधक रहेको ड्राफ्ट तयार गरेको थियो ।
माओवादी स्थायी समिति बैठक चलिरहँदा पेरिसडाँडामा बोलाइएको साना दलको बैठकमा उपाध्यक्ष बाबुराम भट्टराईले शान्ति र संविधानका लागि हातेमालो गरेर अघि बढ्न आवश्यक भएको भन्दै आफूले तयार गरेको ड्राफ्ट बैठकमा पेश गरेका थिए । उक्त ड्राफ्टमा माओवादीले आमहडताल फिर्ता लिनु स्वागतयोग्य भएको, संविधानसभा विघटन गर्ने षड्यन्त्र भएको, सरकारले गृहयुद्ध चाहेको लगायत उल्लेख थिए ।
बैठकमा सहभागी मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार संविधान निर्माण र शान्ति प्रक्रिया विरोधी भएकाले प्रधानमन्त्रीले तत्काल राजिनामा दिनु पर्ने बताए । प्रधानमन्त्रीले तत्काल राजिनामा दिई राजनीतिक गतिरोध अन्त्य गर्नु पर्ने यादवको भनाइ थियो ।
तर 'माओवादीले आफूहरुसँग सल्लाह नगरी ड्राफ्टमा हस्ताक्षर गर्न भन्नुभयो,' चुरे भावर एकता पार्टीका अध्यक्ष केशवप्रसाद मैनालीले भने, 'हामीले पार्टीमा सल्लाह गरेर मात्र सही गर्छौं भनेपछि एक-एक प्रति दिएर पठाउनु भयो ।' उनले बैठकमा आफूले सत्ताका लागि नभइ संविधानका लागि क्रियाशील हुन सुझाव दिएको जानकारी दिए ।
बैठकमा संविधानसभाका दस साना दलका नेताहरु सहभागी थिए । जनविद्रोह गर्ने बताइरहेका बेला साना दललाई आफ्नो पक्षमा पारेर माओवादीले संसदमा अविश्वास प्रस्ताव दर्ता गर्न परामर्स गरेको श्रोतको भनाइ छ । माधव नेपाल नेतृत्वको सरकारमा रहेका बाहेक समर्थन गर्ने दलसँग सल्लाह गर्ने र संसदबाटै सरकार ढाल्ने प्रयत्न गर्ने माओवादी योजना छ । 'उहाँहरुले प्रष्टै त्यसो (अविश्वास प्रस्तावमा समर्थन जनाउन) त भन्नुभएन, तर हुनसक्छ,' मैनालीले भने ।
बैठकमा सहभागी मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि वर्तमान सरकार असफल भएको भन्दै यसको विकल्प खोज्नुपर्ने बताएका थिए । माओवादी मूख्यालयमा भएको बैठकमा मधेसी जनअधिकार फोरम, राष्ट्रिय जनमुक्ति पार्टी, जनता दल, दलित जनजाति पार्टी, नेपाः राष्ट्रिय पार्टी, चुरे भावर एकता पार्टी, नेपाल परिवार दल, नेपाल लोकतान्त्रिक समाजवादी दल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेताहरु थिए । बैठकमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बाबुराम भट्टराईलगायत थिए ।

No comments: