News

May 9, 2010

पश्चिमाञ्चलमा ६५ घाइते, ३६ गिरफ्तार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कास्की, २५ वैशाख,माओवादीद्वारा आह्वान गरिएको ६ दिने आमहडतालका क्रममा पश्चिमाञ्चल क्षेत्रमा भएका ११ झडपका घटनामा ६५ घाइते भएका छन् । आन्दोलनका क्रममा ३६ माथि कुटपिट, आठ सवारी साधन तोडफोड तथा आगजनी, २४ भौतिक संरचना तोडफोड तथा ३६ गिरफ्तार भएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराले वैशाख १९ देखि २४ सम्म जारी अनिश्चितकालीन आमहडतालको अनुगमन प्रतिवेदन सार्वजनिक गर्दै सो जानकारी दिएको हो । इन्सेकले क्षेत्रीय कार्यालय तथा जिल्ला प्रतिनिधिमार्फत दैनिक आन्दोलनको अनुगमन गरेको थियो ।
समग्रमा ६ दिनसम्म जारी आमहडतालका क्रममा पश्चिमाञ्चल क्षेत्रका १६ जिल्लामध्ये १५ जिल्लामा शैक्षिक, औद्योगिक, यातायातलगायत सम्पूर्ण क्षेत्र प्रभावित भएको इन्सेकले जनाएको छ । बन्द-हडतालको प्रभाव मुस्ताङमा पहिलो दिन परेको भए पनि अन्य दिनमा राजनीतिक सहमतिका आधारमा मुस्ताङलाई बन्दमुक्त जिल्ला घोषणा गरिएपछि त्यसको प्रभाव परेन ।
'हडतालका क्रममा विगतका दिनमा जस्तो सडकमा ढुंगामुढा तेस्र्याएर अवरोध गर्ने, टायर बाल्ने जस्ता घटनाक्रम यसपटकको बन्द-हडतालका क्रममा नहुनु तथा अत्यावश्यक सवारी साधनअन्तर्गत एम्बुलेन्स, मानवअधिकार, सञ्चार, कूटनीतिक नियोग, खानेपानी र दूध एवं हरियो तरकारी ढुवानी गर्ने साधनलाई निर्वाध रूपमा सञ्चालन हुन दिनु आन्दोलनको सकारात्मक पक्ष रहेको पाइयो,' प्रतिवेदनमा भनिएको छ ।
तर पनि हडतालका कारण आमनागरिक आफ्नो नैसर्गिक अधिकारको निर्वाध उपभोग गर्नबाट वञ्चित रहेको इन्सेकको भनाइ छ ।

No comments: